एमालेका बिमल कार्कीको टिकट खोसेर बस्नेतलाई

एमालेका बिमल कार्कीको टिकट खोसेर बस्नेतलाई

उदयपुरका दुई संघीय निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा परराष्ट्र मन्त्री डा.नारायण खड्का र क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले उम्मेदवारी दिएका छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १ मा मञ्जु चौधरी र २ मा अम्बरबहादुर रायमाझीलाई उम्मेदवार बनाएको छ । यस पटकको निर्वाचनमा पनि सत्तारुढ गठबन्धन र एमालेको उम्मेदवारहरुवीच नैं भिडन्त हुने देखिन्छ । मैदानमा अन्य राजनीतिक दल पनि देखिएका छन् । क्षेत्र नम्बर १ बाट संघीय संसदका लागि राप्रपाको तर्फबाट ध्रुवकुमार रायमाझीले मनोनयन दर्ता गरेका छन् ।

यसैगरी प्रदेश सभाका लागि निर्वाचन क्षेत्र १ क मा गठबन्धनका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का राजन किराती बासु र ख बाट नेपाली काँग्रेसका जिल्ला अध्यक्ष तथा प्रदेश नम्बर १ का वर्तमान पूर्वाधार तथा सहरी विकास मन्त्री हिमाल कार्की उठेका छन् । एमालेले उनीहरु विरुद्ध १ क मा विमल कार्कीलाई टिकट दिए पनि अन्तिम क्षणमा आएर कुशलबाबु बस्नेतलाई उठाएको छ, १ ख मा इश्वरमणि राउतलाई उम्मेदवार बनाएको छ । कार्कीविरुद्ध कुशलबाबु बस्नेतलाई अन्तिम क्षणमा आएर उम्मेदवार बनाउन एमाले नेता देवराज घिमिरेले विशेष भूमिका निभाएको बताइन्छ । हेण्डस् फ्रिमा उदयपुरका एमाले अध्यक्ष प्रमेश घिमिरेले गरेको कुराकानीमा नेता देवराज घिमिरेले कार्कीको बदला बस्नेतलाई उम्मेदवार बनाउन इमेलमार्फत् पत्र आउँदैछ भनेका थिए । तर निर्वाचन आयोगले इमेल पत्रलाई मान्यता नदिएर आधिकारिक पत्र नै खोजेको बताइन्छ ।

यसैगरी निर्वाचन क्षेत्र नम्बर २ क मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नारायण बुर्जा मगर र ख मा नेपाली काँग्रेसका रामकुमार खत्रीले उम्मेदवारी दर्ता गराएका छन् । एमालेका तर्फबाट भने क्षेत्र नं. २ कमा देवराज राई र खमा जीवनाथ दाहाललाई उम्मेदवार बनाइएको छ । क्षेत्र नंं २ मा सत्तारुढ गठबन्धनविरुद्ध नेपाली काँग्रेसका रामकुमार राईले विद्रोह गरेका छन् । उनले गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका हुन् ।

टिप्पणीहरू