एमाले अध्यक्षका दुई वटा पत्रको आधिकारिकता छानबिन हुँदै

एमाले अध्यक्षका दुई वटा पत्रको आधिकारिकता छानबिन हुँदै

-ऋषि भट्टराई

रुपन्देहीमा प्रतिनिधि र प्रदेश सभा सदस्यको १५ सीटका निम्ति हुने चुनावी प्रतिस्पर्धामा २१३ जनाको उम्मेदवारी परेको छ । पाँच प्रतिनिधि सभा सदस्यका लागि ९५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १० प्रदेश सभा सदस्यका लागि एक सय १८ जनाको उम्मेदवारी परेको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ तर्फ प्रतिनिधि सभामा २१ र प्रदेश सभामा २६ जनाको उम्मेदवारी दर्ता भएको छ । सोही क्षेत्रबाट नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्मा तथा अस्ति बेलुका एमाले परित्याग गरेका पूर्व उपमहासचिव घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

विश्वकर्मा २०७४ को निर्वाचनमा पनि क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । भुसालले सत्तारुढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । विश्वकर्मालाई भने राप्रपा र जसपाले समर्थन गरेको छ ।

निर्वाचन क्षेत्र नम्बर २ मा १७ जनाले उम्मेदवारी दिएका छन् । प्रदेश सभातर्फ २३ जनाले मनोनयन दर्ता गरेका छन् । उक्त क्षेत्रमा एमाले उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उम्मेदवारी दिएका छन् । पौडेल सोे क्षेत्रबाट यसअघि लगातार तीन पटक विजयी भएका थिए ।

सोही क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका राजु गुरुङले उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर ३ मा २४ जनाको उम्मेदवारी परेको छ । त्यहाँ प्रदेशसभातर्फ २४ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभामा गृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण, राप्रपाका वरिष्ठ नेता तथा पूवमन्त्री दीपक बोहराले उम्मेदवारी दर्ता गराएका छन् । बोहरालाई एमाले र जसपाले समर्थन गरेका छन् ।

यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट एमालेका घनश्याम भुसाल निर्वाचित भएका थिए । क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभातर्फ १३ जना र प्रदेशतर्फ १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधि सभामा काँग्रेसबाट प्रमोदकुमार यादव, लोसपाबाट पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ला, जसपाबाट पूर्व राज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी) र जनमत पार्टीबाट भोपेन्द्रप्रसाद यादवले मनोनयन दर्ता गरेका छन् ।

२०७४ को निर्वाचनमा सो क्षेत्रबाट काँग्रेसका प्रमोदकुमार यादव निर्वाचित भएका थिए । त्यसैगरी रुपन्देहीको क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फ २० जनाको उम्मेदवारी परेको छ । प्रदेश सभातर्फ २७ जनाको उम्मेदवारी दर्ता भएको छ । यो क्षेत्रमा प्रतिनिधि सभातर्फ काँग्रेसका भरतकुमार शाह उठेका छन् । अघिल्लो पटक पनि उनै प्रतिनिधिसभा सदस्यमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

उक्त क्षेत्रमा एमालेबाट दुई जनाको उम्मेदवारी परेको छ । एमालेका खिमलाल भट्टराई र बासुदेव घिमिरेले उम्मेदवारी दिएका हुन् । अध्यक्ष केपी शर्मा ओलीले अस्ति घिमिरेलाई र हिजो भट्टराईलाई छुट्टाछुट्टै पत्र पठाएर आधिकारिक भनेपछि दुईमध्ये कसलाई आधिकारिक उम्मेदवार मान्ने भन्नेबारे निर्वाचन आयोगले निर्णय गर्न बाँकी छ ।

टिप्पणीहरू