अध्यक्षका कारण खिमलालको सांसद पद गुम्यो,एमालेको आधिकारिकता घिमिरेलाई
रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ मा उठाइएका एमाले राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईको दुबै पद गुमेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो एकै दिन पहिले बासुदेव घिमिरेलाई र पछि खिमलाल भट्टराईलाई संघीय संसदको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारीको निम्ति पत्र दिनुभएको थियो ।
घिमिरेले हिजो दिउँसो साढे ३ बजे निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका थिए । उनको दर्ता नम्बर ११ हो । त्यसपछि पौने ५ बजेको समयमा भट्टराईले उम्मेदवारी दिए । उनको दर्ता नम्बर १७ देखिन्छ ।
निर्वाचन आयोगको निर्देशिका २०७९ अनुसार पहिले दर्ता भएकाले मान्यता पाउने भएकाले घिमिरेले आधिकारिकता पाएको त्यहाँको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । जिल्ला निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीका अनुसार प्रतिनिधि सभा निर्वाचन निर्देशिका २०७९ को दफा १९ को (९) बमोजिम दलले उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्दा एउटै पदमा एकभन्दा बढीको औपचारिक पत्र प्रदान गरेको अवस्थामा जसको मनोनयन पहिला हुन्छ उसैले आधिकारिकता पाउने व्यवस्था छ ।
भट्टराई एमालेको तर्फबाट राष्ट्रिय सभामा संसदीय दलका नेता थिए । अब उनको राष्ट्रिय सभाको १५ महिने पद पनि गएको छ । प्रतिनिधिसभामा एमालेको उम्मेदवार हुने चाहना पनि सकिएको छ ।
टिप्पणीहरू