नुवाकोटमा पनि गठबन्धनमा गडबड

नुवाकोटमा पनि गठबन्धनमा गडबड

केन्द्रीय तहमा भएको सीट भागबण्डामा चित्त नबुझाएका स्थानीय नेताले बिभिन्न क्षेत्रमा बागी उम्मेदवारी दिएपछि सत्ता गठबन्धनमा लफडा चर्किएको छ । आफ्नो भागमा आइसकेको टिकट गठबन्धनका कारण अर्को दललाई छोड्न बाध्य भएका आकांक्षीहरुले आधिकारिक उम्मेदवारविरुद्ध बागी हालेपछि गठबन्धन दलबीच किचलो निम्तिएको हो ।

गठबन्धनको भागबण्डा तुलनात्मक रुपमा मिलेको भनिएको नुवाकोटमा पनि माओवादी केन्द्रका तर्फबाट बागी उम्मेदवारी परेको छ । त्यहाँ दिवंगत नेता पोष्टबहादुर बोगटी पत्नी राममायाले प्रदेशसभातर्फ आफूले पाएको टिकट क्षणभरमा खोसिएपछि बागी दिएकी हुन् ।

माओवादी केन्द्रले सुरुमा बोगटीलाई नुवाकोट–२ (ख) मा टिकट दिएको थियो । तर, उम्मेदवारी मनोनयन दर्ताको केही घण्टाअघि मात्र उनको टिकट खोसियो ।

सत्ता गठबन्धनको भागबण्डामा प्रतिनिधिसभा क्षेत्र नम्बर–२ (क) एकीकृत समाजवादी र (ख) माओवादी केन्द्रको भागमा परेको थियो । तर, अन्तिम समयमा कांग्रेस र माओवादीले अघिल्लो निर्णय उल्ट्याउँदै प्रदेशसभामा पहिला पाएका क्षेत्र परिवर्तन गरेपछि किचलो शुरु भएको हो ।

प्रतिनिधिसभाको क्षेत्र नम्बर–२ मा कांग्रेस तथा प्रदेशसभाको (क) मा समाजवादी र (ख) मा माओवादी केन्द्रले लिने सहमति शीर्ष नेतृत्व र सिट बाँडफाँट कार्यदलमा भएको थियो । प्रतिनिधिसभामा कांग्रेस नेता अर्जुननरसिंह केसीले उम्मेदवारी दिएका छन् । प्रदेश (क) मा समाजवादीबाट पूर्वसांसद राजेन्द्रप्रकाश लोहनी र (ख) मा माओवादीबाट बोगटीले लगिसकेको टिकट अन्तिम अवस्थामा खोसिएको हो ।

समाजवादीको भागमा परेकोे प्रदेश (क) मा माओवादीबाट रामप्रसाद ढुंगाना र माओवादीले पाउने भनिएको प्रदेश (ख) मा कांग्रेसका निवर्तमान सांसद बहादुरसिंह लामा तामाङले उम्मेदवारी दिएका छन् ।

बोगटीले आफूले पहिला टिकट पाएको भन्दै उम्मदेवारी फिर्ता नलिने अडान राखेकी छन् । यस्तै प्रदेश (क) मा उम्मेदवारी दर्ता गराएका लोहनीले माओवादीबाट उम्मेदवारी दिएका ढुंगानाको उम्मेदवारी कायमै रहे गठबन्धन छाड्ने चेतावनी दिएका छन् ।

टिप्पणीहरू