काँग्रेसबाट आफ्ना उम्मेदवार जोगाउन बीपी काँग्रेसले माग्यो सुरक्षा
नेपाली काँग्रेस (बीपी) ले आफ्नो उम्मेदवारहरुमाथि खतरा बढेको भन्दै सुरक्षा व्यवस्था मिलाइदिन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको छ । नेपाली काँग्रेस लमजुङका नेता–कार्यकर्ताले उम्मेदवारी दर्ताको क्रममा आफ्ना उम्मेदवारमाथि हातपात गरेको भन्दै सो पार्टीले सुरक्षा माग गरेको हो ।
निर्वाचन कार्यालय, लमजुङमा हिजो उम्मेदवारी दर्ता गर्ने क्रममा प्रदेश (क) उम्मेदवार अस्मिता गुरुङलाई काँग्रेस कार्यकर्ताले कुटपिट र लछारपछार गरेको वीपी काँग्रेसको आरोप छ । त्यस्तै, प्रतिनिधि सभा उम्मेदवार डा. लक्ष्मी पौडेल र प्रदेश (ख) का नवराज बर्तौलालाई समेत डरधम्की दिइएको बताइएको छ ।
असुरक्षाकै बीच हिजो जसोतसो उम्मेदवारी दर्ता गर्न सफल भए पनि काँग्रेस कार्यकर्ताबाट अहिले पनि सुरक्षा चुनौती रहेको भन्दै पार्टी सभापति सुशिलमान शेरचनद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
काँग्रेस तथा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले ज्यान मार्ने धम्की दिएको सूचना पार्टी कार्यालयमा आएकाले तत्काल सुरक्षा व्यवस्था मिलाइदिन सभापति शेरचनले जिल्ला प्रशासन कार्यालय लमजुङ र जिल्ला प्रहरी कार्याललाई आग्रह गरेका हुन् ।
टिप्पणीहरू