काठमाडौंमा योजना, झापामा पेस्तोल, ताप्लेजुङमा डकैती
-कमल भट्टराई
गत साता ताप्लेजुङको मुख्य बजार वीरेन्द्रचोकस्थित जिल्ला प्रहरी कार्यालयबाट लगभग एक सय मीटर टाढाको एउटा मनी ट्रान्सफर कार्यालय लुटियो । फुङलिङ नगरपालिका ५ मा रहेको कञ्चन मनी ट्रान्सफरमा महाअष्टमीको दिन बिहान ९ बजे लुटपाट भएको हो ।
लुटपाटमा संलग्न व्यक्ति सिसी टिभीमा प्रष्टसँग देखिन्थे । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जनप्रतिनिधि र स्थानीयको सक्रियतामा सोही दिन दिउँसो पौने ३ बजे एक जना शंकास्पद व्यक्ति फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढायो ।
फुङलिङ नगरपालिका ४ मा बन्दै गरेको नयाँ बसपार्कभन्दा केही तलको जंगलमा शंकास्पद अवस्थामा भेटिएका फुङलिङ नगरपालिका २ का २९ बर्षीय राजन पर्तेल भनिने राजा यन्द्र पर्तेलको साथबाट १३१ थान (१४३ तोला) सुनका गरगहना र नगद छ लाख १३ हजार तीन सय ४० प्रहरीले बरामद गरेपछि घटनाको तथ्य नजिक प्रहरी पुगेको बताइन्छ । त्यसपछि उक्त डकैतीको अनुसन्धान थालिएको ताप्लेजुङ प्रहरी कार्यालयले बताएको छ ।
पक्राउ परेका राजा यन्द्र पर्तेल पहिले ताप्लेजुङमा सुनचाँदी व्यवसाय गर्थे । त्यसपछि लागुऔषध दुर्व्यसनी भएको खुल्न आएको छ । उनी स्थानीय भएका कारण मनी ट्रान्सफरको कारोबारबारे जानकार थिए । उनलाई उक्त भवनको ढोका,बाटो, भर्याङलगायत सबै बनोटबारे राम्रो ज्ञान भएकाले लुटपाटको योजना बनाउन सजिलो भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
उक्त घटनाअघि अभियुक्तहरुले काठमाडौंमा बसेर योजना बनाएपछि झापामा म्याग्जिनसहितको पेस्तोल व्यवस्थापन गरेको खुलेको छ । डकैतीमा संलग्न थप दुई जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा झापा शिवसतासी नगरपालिका १ बस्ने २६ वर्षे चुनबहादुर सुनार र झापाकै अर्जुनधारा नगरपालिका १० बस्ने मणिराज पर्तेल हुन् ।
उनीहरुलाई क्रमशः असोज १८ र १९ गते फुङलिङ नगरपालिका २ मा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो । थप एक जनाको खोजी कार्यलाई तीव्र बनाइएको ताप्लेजुङका डिएसपी कैलाश राईले जानकारी दिए ।
टिप्पणीहरू