आइजीपीको २४ सय तलब बढ्दा जवानको ८७०
नेपाल प्रहरीले साउनदेखि लागु हुनेगरी तयार गरेको शुरु तलबस्केल र ग्रेड मिलानसहितको अन्तिम तलब स्केल सार्वजनिक भएको छ । सरकारले बजेट भाषणमा घोषणा गरेको तलब वृद्धिपछि प्रहरी महानिरीक्षकको शुरु स्केल ७२ हजार ९० रुपैयाँ भएको छ । असारसम्म उक्त स्केल ६२ हजार ६८० थियो ।
साउनदेखि प्रहरी महानिरीक्षकको तलब मासिक नौ हजार ४१० रुपैयाँ बढेको हो । अब प्रति वर्ष एक ग्रेडका दरले हुन आउने दुई हजार ४०३ रुपैयाँका दरले बढीमा दुई ग्रेडको रकम मिलान गरेपछि अन्तिम स्केल ७६ हजार ८९६ रुपैयाँ हुनेछ । उनको अवकाशपछि पेन्सन हिसाब सोही रकमको आधारमा हुनेछ ।
प्रहरीको तलब चार्टमा महानिरीक्षकझैँ अतिरिक्त महानिरीक्षकको पनि दुई हजार ४०३ रुपैयाँ ग्रेड रकम र दुई ग्रेड तोकिएको छ । शुरु र अन्तिम तलब स्केल पनि महानिरीक्षकको जस्तै कायम भएको छ ।
नायव महानिरीक्षकको तीन ग्रेड र ग्रेड रकम दुई हजार ३२ तथा वरिष्ठ उपरीक्षकको ४ ग्रेड र ग्रेड रकम १८ सय ९३ रुपैयाँ कायम भएको छ । जसअनुसार नायव महानिरीक्षकको शुरु स्केल ५३ हजार तथा अन्तिम स्केल ६७ हजार ४५ रुपैयाँ तथा वरिष्ठ उपरीक्षकको शुरु स्केल ५६ हजार ७९० र अन्तिम स्केल ६४ हजार ३६२ रुपैयाँ कायम भएको उल्लेख छ ।
प्रहरी उपरीक्षक र नायव उपरीक्षकले ५ ग्रेड, निरीक्षकले ८ ग्रेड,वरिष्ठ नायव निरीक्षकले ५, नायव निरीक्षकले ८, सहायक निरीक्षकले ७, वरिष्ठ हवल्दारले ८, हवल्दारले ७, सहायक हवल्दारले १० र प्रहरी जवानले ८ ग्रेड पाउने भएका छन् ।
जवानको ग्रेड रकम ८७० रुपैयाँ भएको छ । जसअनुसार शुरु तलब स्केल २६ हजार ९० बाट ३३ हजार ४७ रुपैयाँ कायम हुने बताइन्छ ।
टिप्पणीहरू