मतदाताले काँग्रेस सभापतिको हिसाब खोज्न थाले
-रमेश बन्जारा
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको निम्ति विभिन्न दलका नेता र स्वतन्त्र व्यक्तिले अस्ति उम्मेदवारी दर्ता गरेका छन् । बागमती प्रदेशको राजधानी जिल्लासमेत रहेको मकवानपुरको निर्वाचनलाई अहिले केन्द्रीय राजनीतिमा समेत निकै चासोका साथ हेरिएको छ ।
मकवानपुरमा २ प्रतिनिधि सभा र ४ प्रदेश सभा निर्वाचन क्षेत्र तोकिएको छ । सत्तागठबन्धनको तर्फबाट काँग्रेसले प्रतिनिधि सभातर्फ १ नम्बर क्षेत्र र प्रदेश मा २ ‘ख’ पाएको छ ।
निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ मा नेपाली काँग्रेसका तर्फबाट सोही पार्टीका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाले टिकट पाएसँगै उनलाई निशानामा पार्न पार्टीका जिल्ला नेता मरिमेटेर लागि परेका छन् । यता सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका प्रभावशाली नेताले समेत बानियाविरुद्ध सोही क्षेत्रबाट उमेदवारी दर्ता गरेपछि गठबन्धनभित्रै बानिया निशानामा परेको अर्थ लगाइएको छ ।
राजनीतिमा धनवाद, डनवाद हावी गराएको आरोप खेप्दै आएका बानियाको क्षेत्रका काँग्रेसका नेताहरुले पार्टी परित्याग गरेको पछिल्लो श्रृंखलाले पनि उनी चर्को निशानामा परेको आशंका गर्न थालिएको छ ।
उनले चुनावको मुखमा गाउँमा चामल र मस्यौरा वितरण गरेर गरिबमाथि राजनीति गर्न खोजेको आरोप काँग्रेसभित्रैबाट चर्केको छ । तुलनात्मक रुपमा काँग्रेस बलियो मानिएको मनहरी गाउँपालिकामा पार्टीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले मञ्चबाट निर्वाचित जिल्ला सदस्य तथा ज्येष्ठ नागरिक चन्द्रबहादुर न्यौपानेको अपमान गरेको बताइन्छ । त्यसपछि त्यहाँका कार्यकर्तासमेत बानियाप्रति रुष्ट हुन थालेका हुन् ।
नेताको दम्भको कारण काँग्रेस छाड्नेको जिल्लामा लस्कर देखिएको छ । ‘बानियाले जत्रोबाट हुर्केको थियो, मकवानपुर काँग्रेसलाई त्यत्रै बनाएर छाड्ने भए,’ पार्टी छाडेका एक जना कार्यकर्ताले भने । उनलाई २०७४ को संसदीय यात्रामा प्रवेश गराउन कमाण्डरको भूमिका खेलेका मनहरीका चर्चित युवा नेता पदम तितुङ्गलेसमेत बानियाकै कारण पार्टी परित्याग गरेका हुन् । अहिले पदमले बानियासँगै प्रतिस्पर्धा गर्न बिपी काँग्रेसबाट उम्मेदवारी दिएका छन् ।
“उनलाई २०७४ को संसदीय यात्रामा प्रवेश गराउन कमाण्डरको भूमिका खेलेका मनहरीका चर्चित युवा नेता पदम तितुङ्गलेसमेत बानियाकै कारण पार्टी परित्याग गरेका हुन् ।”
पदम उक्त क्षेत्रमा सामाजिक कार्यमा सक्रिय युवाको रुपमा परिचित छन् । उनको अप्रत्यासित उम्मेदवारीले बानियाको संसदीय यात्रामा नयाँ मोड आउन सक्ने आकलन गरिएको छ । पछिल्लो घटनाक्रमले आफूलाई चतुर राजनीतिक खेलाडी सम्झने बानिया अहिले आफ्नै गतिविधिका कारण समस्यामा पर्न थालेको स्थानीयको बुझाइ छ ।
मकवानपुरको टिकट वितरणमा यसअघि नै पार्टीभन्दा व्यक्ति केन्द्रित राजनीतिमा होमिएको उनीमाथि आरोप थियो । स्थानीय तह निर्वाचनमा टिकट वितरणमा मनपरी गरिएको नेता तथा कार्यकर्ताले अहिले पनि बताउन छाडेका छैनन् ।
जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ मा माओवादी बलियो शक्तिको रुपमा रहेको दाबी गरिन्छ । सोही पार्टीका जिल्ला सदस्य खुशीलाल चेपाङ र बिपी काँग्रेसबाट युवा नेता पदमले उक्त क्षेत्रबाट उम्मेदवारी दर्ता गराएपछि बानियाको निम्ति राजनीतिक तगारो तेर्सिएको भन्न थालिएको हो ।
स्थानी तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा एमाले उम्मेदवार अनन्तप्रसाद पौडेललाई जिताउन बानिया लागिपरेको आरोप पनि लाग्दै आएको छ । त्यसैगरी त्यतिबेलाको निर्वाचनमा टिकट वितरणमा आर्थिक चलखेलको घिनलाग्दो आरोपको उनले सामना गर्नुपरेको थियो ।
अहिले काँग्रेसका नेता तथा कार्यकर्ताले उनको विरुद्धमा सामाजिक सञ्जाल रंगाएका छन् । २०७४ मा प्रदेश सभा सदस्य बनेका बानियाले प्रदेश सभा सदस्य छँदा आफ्नो निजी जग्गा र निजी कम्पनी जोगाउन, घेराबार गर्न प्रदेश सरकारको बजेटको दुरुपयोग गराएको आरोप अरुले नभएर काँग्रेसीहरुले नै लगाएका हुन् ।
‘एकातिर दुर्गमका जनता भोकै छन् । सडक यातायातको अभावमा गाउँमा फलेका तरकारी र बाली गाउँमै हुने अवस्था छ,’ भन्दै काँग्रेसीहरुले भने, ‘यता हाम्रा नेता भनिएका बानियाले प्रदेश सरकारको बजेटमा आफ्नो घर सम्पतिको सुरक्षामा लागे,’ काँग्रेस जिल्ला समितिका एक जना सदस्यले अगाडि भने, ‘ती सबै हिसाब किताब आगामी मंसिर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म यहाँका मतदाताले खोज्नेछन् ।’
टिप्पणीहरू