बागी उठेका धेरै जनाको नाम फिर्ता
सत्तारुढ गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध विभिन्न क्षेत्रमा उठेका बागी फिर्ता भएका छन् । निर्वाचन आयोगले तोकेको उम्मेदवारी फिर्ताको समयभित्र आज आधिकारिक उम्मेदवारलाई समर्थन जनाउँदै धेरै जसोले मनोनयन फिर्ता लिएका हुन् ।
बझाङबाट प्रतिनिधिसभामा उठेका गठवन्धनका भानुभक्त जोशीविरुद्ध बागी उठेका नेपाली काँग्रेसका पूर्वपार्टी सभापति हर्कजङ्गबहादुर सिंह र माओवादी केन्द्रका नेता लोकेन्द्र धामी निर्मलले उम्मेदवारी फिर्ता गरेका छन् । सिन्धुली-१ मा कांग्रेसबाट बागी रामप्रसाद अधिकारीले पनि मनोनयन फिर्ता लिए ।
त्यस्तै,खोटाङमा कांग्रेसका दुई जनाले आधिकारिक उम्मेदवारलाई समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिएका छन् । ललितपुर-२ मा गठवन्धनका उम्मेदवार कृष्णलाल महर्जनका विरुद्ध बागी दिएका माओवादीका प्रेमसिंह महर्जनले पनि स्वतन्त्र उम्मेदवारी फिर्ता लिएर समर्थन जनाएका छन् । ललितपुर-१ (क) मा माओवादी केन्द्रका बागी उम्मेदवार राजु आले मगरले पनि आफ्नो उम्मेदवारी फिर्ता लिए ।
स्याङ्ग्जाको प्रदेशसभामा पनि आधिकारिक उम्मेदवारविरुद्ध मैदानमा उत्रिएका बागीले नाम फिर्ता लिएका छन् । स्याङ्जा-१ (क) गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी अमृता थापा मगरविरुद्ध बागी हालेका मेखलाल श्रेष्ठले मनोनयन फिर्ता लिएका हुन् ।
यता, गुल्मी-२ मा रामकुमारी झाँक्रीविरुद्ध काङ्ग्रेस नेता दामोदर भुसालले राखेको उम्मेदवारी भने फिर्ता भएन । त्यस्तै,अछाममा गठवन्धनका उम्मेदवार शेरबहादुर कुँवरविरुद्ध बागी हालेका काङ्ग्रेसका राजन कुँवरले पनि नाम फिर्ता लिएनन् ।
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको हिजो बालुवाटारमा बसेको बैठकले आधिकारिक उम्मेदवारविरुद्ध उठेकाहरुलाई नाम फिर्ता लिन एकमुष्ट निर्देशन दिएको थियो ।
टिप्पणीहरू