विद्युतको सबस्टेसनमा आगो लागेर ध्वस्त भएपछि…

विद्युतको सबस्टेसनमा आगो लागेर ध्वस्त भएपछि…

चितवन भरतपुरको बाह्रघरे, बेलचोक, शिवघाट, काभ्रेघाट, रामघाट क्षेत्रका उद्योगमा हिजोदेखि विद्युत आपूर्ति बन्द रहेको जानकारीमा आएको छ । सबस्टेसनमा आगो लागेपछि ति क्षेत्रमा विद्युत अवरुद्ध भएको हो ।

गत मंगलबार दिउँसो न्यू भरतपुर आँपटारी १३२/११ केभी सबस्टेसनको ११ केभी प्यानलमा ठूलो आगलागी भएको थियो । सो सबस्टेशन अन्तर्गत देवघाट, गणेशस्थान, सिँचाइ पम्पहाउस, क्षेत्रपुर र औद्योगिक ३ फिडरमा विद्युत वितरण हुँदै आएकोमा अरु क्षेत्रमा अन्यत्रबाट वैकल्पिक व्यवस्था मिलाएर विद्युत सेवा प्रवाह गरिएपनि उद्योग/प्रतिष्ठानमा विद्युत पुर्याउन नसकिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

मंगलबार दिउँसो साढे १२ बजेतिर आगो लागेर ध्वस्त भएको प्यानललाई पर्सि अपराह्नसम्म पुनस्र्थापना गरेर विद्युत सेवा नियमित गर्ने प्राधिकरणको प्रयास छ । सबस्टेशन सञ्चालनमा नआएसम्म अरु लाइन पनि आउने–जाने हुनसक्ने बताइएको छ ।

आगलागीबाट झण्डै दुई करोड बराबरको भौतिक क्षति भएको प्राधिकरणले जनाएको छ । इन्जिनियर पौडेलका अनुसार भरतपुर महानगरपालिकाको दमकल, विद्युतका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विपद् व्यवस्थापनका मान्छेसमेत भएर आगो निभाउन करिब एक घन्टा लागेको थियो ।

टिप्पणीहरू