एआइजीको खर्च देखाउँदै, पैसा उठाउँदै

एआइजीको खर्च देखाउँदै, पैसा उठाउँदै

नेपाल प्रहरीको कार्यदक्षता मूल्यांकन गर्न अघिल्लो महिना कपिलवस्तु आएका सिआइबी हेर्ने एआइजी उत्तमराज सुवेदीसहितको टिमलाई खानपान व्यवस्थापन गर्दा ऋण लागेको नाममा इलाका प्रहरी कार्यालय गोरुसिंगेले सहयोग उठाउँदै हिडेको छ ।

भदौ २३ गते सुवेदी, डिआइजी नलप्रसाद उपाध्याय, एसएसपी तथा एसपीहरुसहितको टोलीले जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय गोरुसिंगे तथा प्रहरी चौकी घन्चौराको निरीक्षण गरेको थियो । टोलीलाई खाने, बस्ने व्यवस्था गोरुसिंगे स्थित मायाज होटलमा गरिएको थियो । २४ गते टोली दाङतर्फ प्रस्थान गर्नुअघि गोरुसिंगे इप्रकाका निरीक्षक शशीधर शर्माले व्यवस्थापन खर्च भन्दै विभिन्न निकायसँग विभिन्न काम देखाएर सहयोग उठाएका थिए ।

निरीक्षण गर्न केन्द्रबाट टोली आउने र भवनहरु रंगरोगन गर्न बजेट चाहिने भन्दै बुद्धभूमि नगरपालिकालाई १५ गते नै पत्राचार गरेको थियो । सोहीबमोजिम मेयर केशव श्रेष्ठले २ लाख २५ हजारको बजेट व्यवस्था गरिदिए । त्यसैबाट इप्रका भवन र घनचौरा चौकीमा रंगरोगन पनि गरियो । त्यसमा पनि इप्रका, जवान व्यारेक र कार्यालयको भित्री कोठामा रंगरोगन नै नगरी सरफ पानीले धोएको प्रहरी श्रोतको भनाई छ ।

एआइजी टोलीको आवश्यक बसोबास खर्च मिलाउन भन्दै इन्स्पेक्टर शर्माले नगरपालिकाका सबै सामुदायिक वनमा पुनः त्यही भवन रंगरोगन गर्ने भन्दै भदौ १८ मा पत्राचार गरेका छन् । के गर्ने, एआइजी आउँदैछन्, मेजमानी गर्नैप¥यो, पेन्ट गर्ने भन्दै पत्र पठाएका छौं, लौ सहयोग गरिदिनुस् भन्दै इन्सपेक्टरले सामुदायिक वनहरुमा फोनसमेत गरेका थिए ।

सोही पत्रको आधारमा असइ मनोज भुसाल र मुद्दाका हवल्दार सोभितबाबु रेग्मी रकम उठाउन खटिए । महेन्द्रकोटका जयवनशक्ति, हरिओम खोला, रजकुडा, बसन्तपुरलगायत सामुदायिक वनले १० हजारका दरले दिएको बताइन्छ । यहाँका सबै वनले सहयोग गरेका छन्– एक अध्यक्षले भने । जयनगरको त्रिशूली सामुदायिक वनले १५ हजार दिइसकेको छ ।

प्रहरी स्रोतका अनुसार नगरपालिका क्षेत्रका २८ वटा सामुदायिक वनलाई पत्र काटेर सहयोग मागिएको छ । अधिकांशबाट उठिसकेको र केहीको आउन बाँकी छ । यसैगरी एआइजीको मेजमानीका नाममा महेन्द्रकोटको सत्यदेवा क्रसर, बडहरा क्रसर, विभिन्न राइस मिल तथा ट्रक समितिबाट समेत निरीक्षक शर्माले रकम उठाएको उजुर आइजीपीको सचिवालयमा परेको छ ।

टिप्पणीहरू