सत्ता गठबन्धनले तिहारअघि संयुक्त कार्यकर्ता भेला गर्ने, काठमाडौंमा कात्तिक ७ गते

सत्ता गठबन्धनले तिहारअघि संयुक्त कार्यकर्ता भेला गर्ने, काठमाडौंमा कात्तिक ७ गते

सत्ता गठबन्धनमा आवद्ध दलहरुको आजको बैठकले सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ । जसअनुसार पहिलो भेला कात्तिक ४ गते पोखरामा गर्ने बताइएको छ । बिहान ११ बजे आयोजना हुने कार्यक्रमको व्यवस्थापकीय जिम्मेवारी नेकपा एकीकृत समाजावादीलाई दिइएको छ ।

सोही दिन लुम्बिनी प्रदेशको बुटवलमा पनि त्यस्तै कार्यक्रम हुने भएको छ । त्यहाँको व्यवस्थापनको जिम्मा नेपाली काँग्रेसले लिएको छ भने कार्यक्रम दिउँसो २ बजे राखिएको छ ।

कात्तिक ५ गते बिहान ११ बजे विराटनगरमा भेला डाकिएको छ । त्यहाँ पनि भेलाको व्यस्थापन नेपाली काँग्रेसले गर्ने बताइएको छ ।
जनकपुरमा पनि सोही दिन दिउँसो २ बजे त्यस्तै कार्यक्रम राखिएको छ । आजको बैठकले जनकपुरको भेलामा लोसपालाई पनि आमन्त्रण गर्ने निर्णय गरेको छ । त्यहाँको व्यवस्थापनको जिम्मा नेपाली काँग्रेसले लिएको छ ।

भोलिपल्ट कात्तिक ६ गते बिहान ११ बजे धनगढीमा भेला राख्ने निर्णय भएको बताइएको छ । त्यहाँको व्यवस्थापनको जिम्मा नेकपा माओवादी केन्द्रको भागमा परेको छ ।

सुर्खेतमा पनि सोही दिन संयुक्त कार्यकर्ता भेला डाकिएको छ । दिउँसो २ बजे राखिएको कार्यक्रमको व्यवस्थापन भने नेपाली काँग्रेसले जिम्मा लिएको छ । कात्तिक ७ गते बागमतीको भेला काठमाडौंमा बिहान ११ बजे राखिएको छ । काठमाडौं भेलाको व्यवस्थापन माओवादी केन्द्रले गर्नेछ ।

सबै ठाउँमा पार्टी केन्द्रीय समिति सदस्य, पार्टी प्रदेश पदाधिकारी तथा जिल्लाबाट दलका प्रमुखसहित तीन जना सहभागी हुने मापदण्ड तोकिएको छ ।

भेलाको अध्यक्षता व्यवस्थापन गर्ने पार्टीको भागमा राख्ने निर्णय गरिएको छ भने वक्तामा सबै दलका प्रमुख नेता रहनेछन् । उक्त कार्यको निम्ति अपिल प्रकाशन गर्न डा.प्रकाशशरण महत, हितमान शाक्य, प्रमेश हमाल र हिमलाल पुरी रहेको कमिटी गठन गरिएको छ ।

आज बालुवाटारमा बसेको बैठकले निर्वाचन परिचालन समन्वय समिति गठन गर्ने निर्णय गरेको बताइएको छ । केन्द्रमा रामचन्द्र पौडेल नेतृत्वको गठबन्धन समितिले काम गर्ने छ ।

प्रदेश र जिल्लास्तरमा गठबन्धन दलका प्रमुखहरु रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गर्ने र जिल्ला संयन्त्रले आवश्यकताबमोजिम निर्वाचन क्षेत्र तथा स्थानीय तहमासमेत निर्वाचन परिचालन समन्वय समिति निर्माण गर्न सक्ने व्यवस्था गरिएको बताइएको छ ।

टिप्पणीहरू