बैंकले ब्याजदर बढाएको विरोधमा व्यवसायीहरु आन्दोलित

बैंकले ब्याजदर बढाएको विरोधमा व्यवसायीहरु आन्दोलित

बैंकहरुले ब्याजदर बढाएपछि सुर्खेतका व्यवसायीहरु आन्दोलित भएका छन् । चर्को ब्याजदरको विरोधमा संयुक्त व्यवसायी संघर्ष समितिले आज बीरेन्द्रनगर बजार बन्द गरेर विरोध प्रदर्शन गरेको हो ।

नेपाल राष्ट्र बैंकले जारी गरेको ‘चालु पूँजी मार्गनिर्देशन २०७९’ ले नीजि क्षेत्रलाई समस्याग्रस्त बनाएको समितिको आरोप छ । बैंकहरुले मार्गनिर्देशनको आडमा आर्थिक मन्दीको मौका छोपेर नीजि क्षेत्रलाई धरासायी बनाउन खोजेको संघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान दिएका नीजि क्षेत्रमा भएको ऋण लगानीको ब्याज मनपरी ढंगले महिनैपिच्छे बढाउने, सेवाशुल्कका नाममा अनेकौं शुल्क लिएर थप आर्थिक भार थप्ने, ब्याज किस्ताका लागि तारन्तार मानसिक दबाब दिनेजस्ता कार्यले सिंगो नीजि क्षेत्र नै हतोत्साही भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

साथै, जबरजस्ती बढाएको ब्याजदर र किस्ता तिर्नका लागि बैंकहरुले मानसिक यातना दिएको समितिको आरोप छ । समितिले आज बैठक बसेर आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने बताएको छ ।

समितिले कर्जाको ब्याजदरमा एकल अंक कायम गरी स्थायित्व हुनुपर्ने, बैंकहरुले विभिन्न शीर्षकमार्फत लिने सेवाशुल्कलगायतका कुनै पनि शुल्क लिन नपाउने व्यवस्था गर्नुपर्ने, कर्जाको ब्याजदरमा पुनः संरचना गर्न दिनुपर्ने, राष्ट्र बैंकले जारी गर्ने रिपो ९ प्रतिशतमा झार्नुपर्नेलगायतका माग राखेको छ ।

टिप्पणीहरू