तीन पार्टीले एकैचोटी सुनिल शर्मालाई भोट मागे
सत्ता गठबन्धनका दलहरुले मोरङ–३ का साझा उम्मेदवार नेपाली काँग्रेसका डा.सुनिल शर्मा न्यौपानेलाई जिताउन आग्रह गरेका छन् । गठबन्धनले आज संयुक्त अपील गर्दै डा. शर्मालगायत प्रदेशतर्फका दुवै उम्मेदवारलाई भोट हाल्न नेता–कार्यकतालाई आह्वान गरेको छ ।
सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका तर्फबाट डा.शर्मा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मोरङ–३ बाट उम्मेदवार बनेका छन् । काँग्रेस क्षेत्रीय सभापति गणेशकुमार खड्का, माओवादी केन्द्रका संयोजक खेमराज भट्टराई (दिपक) र समाजवादीका केन्द्रिय परिषद् सदस्य चण्डीप्रसाद राईले उनलाई भोट दिन संयुक्त आह्वान गरेका हुन् ।
गठबन्धनका उम्मेदवारलाई जिताउन एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य हर्कमान तामाङको संयोजकत्वमा ११ सदस्यीय उच्चस्तरीय राजनीतिक संयन्त्र तथा अनुगमन समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी खड्काको संयोजकत्वमा १७ सदस्यीय निर्वाचन परिचालन समिति बनाइएको छ भने माओवादी केन्द्रका नगर सहइञ्चार्ज अशोक दाहालको संयोजकत्वमा २५ सदस्यीय मूल निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ ।
गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन काँग्रेस, माओवादी र एकीकृत समाजवादीका जिल्लास्तरीय शीर्ष नेताहरुले आ–आफ्नो पक्षबाट व्यापक जनपरिचालन गरिने विज्ञप्तिमा भनिएको छ ।
टिप्पणीहरू