तपाईंहरु साइड लाग्नोस्, हामीलाई छाडिदिनोस्

तपाईंहरु साइड लाग्नोस्, हामीलाई छाडिदिनोस्

युवा समग्र जीवनको एउटा यस्तो उमेर अवस्था हो, जहाँ व्यक्तिमा साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वास हुन्छ । राष्ट्र निर्माण युवा शक्ति बिना सम्भव हुँदैन । यो एउटा सम्भावनायुक्त शक्ति हो, जसलाई कसरी प्रयोग गर्ने भन्ने कुरा राज्यको नीति तथा कार्यक्रममा भर पर्छ । तर हाम्रो सन्दर्भमा संसार परिवर्तन गर्ने युवा शक्तिलाई देशमै राख्न नसकेर ६० लाख युवा खाडी र युरोपेली मुलुकमा पसिनासँग जीवन साँट्न बाध्य भइरहेका छन् । उनीहरूबाट प्राप्त हुने रेमिट्यान्स रकमबाट देशको अर्थतन्त्र त धानिएको छ तर त्यही मिहिनेतको पसिनामा पनि भ्रष्टाचार हुँदा आफैँलाई भतभती पोल्दो रहेछ ।

काम गर्ने ठाउँ सुरक्षित नहुनु, बारम्बार दुर्घटना तथा आक्रमणमा पर्नु, उचित स्वास्थ्योपचार र समयमा तलब तथा भत्ता नपाउनु, ठगीमा पर्नु, भनेको काम र रकम नदिनु, दलालमार्फत कन्टेनरमा लुकिछिपी समुद्रको बाटो विदेश जाने क्रममा कतिको ज्यान जानु– यसको कुनै लेखाजोखा नै छैन । युवा जनशक्तिको नेपाली राजनीतिमा आवश्यकता छ तर अझै पनि राजनीतिमा युवा सहभागिता न्यून छ ।

हाम्रा नेताहरू नयाँ पुस्तालाई सजिलै नेतृत्व दिनै चाहँदैनन् । तर, नेतृत्व परिवर्तनका लागि युवाले निरन्तर प्रयास गरिरहनुपर्छ । समाजले पनि नेताबाट गर्ने अपेक्षा परिवर्तन हुनुपर्छ । २४ घण्टा पार्टीको झोला बोक्नेलाई मात्रै नेता मान्ने चलन हट्नुपर्छ । खासमा हस्तक्षेपकारी युवा जमात नभएकाले नै राजनीतिक अस्थीरता बढ्दै गएको हो । युवामा आशा जगाउने भनेको युवा नेताले नै हो । विश्वका हरेक समृद्ध मुलुक निर्माण युवाको नेतृत्व र परिचालनबाट मात्र सम्भव भएको तथ्य जगजाहेरै छ । हरेक परिवर्तनको नेतृत्वदायी भूमिका निर्वाह गर्ने युवा अब देशको राजनीति र समृद्धिको नेतृत्व लिन पनि तयार हुनुपर्छ । नेपालमा नीति–नियम प्रशस्त बन्ने गरेका छन् । तर कार्यान्वयन पक्ष भने कमजोर छ ।

एकअर्कालाई पीडा थप्नका लागि सामाजिक सञ्चालको प्रयोग गर्ने र यसैलाई गजवको स्वतन्त्रता मान्ने हो भने हामी कहाँ पुग्छौं ?

युवा नीति कार्यान्वयनका सन्दर्भमा सबै प्रकृतिका युवाबीच साझा बुझाइ विकास हुनु जरुरी छ । जसरी आगोले खाना पाक्छ र डढेलो पनि लगाउँछ । त्यसरी नै युवाशक्ति आफैँमा निश्चल र पवित्र भावनाले ओतप्रोत अवस्था हो जसमा सामाजिकीकरणका विभिन्न माध्यम जस्तै परिवार, समाज, साथी–संगत र शिक्षाद्वारा उसका मूल्य–मान्यता निर्माण गरिन्छ । छिमेकीलाई ठूलो स्वरमा गाली गर्नु र सम्बन्धमा तिक्तता थप्नुको सट्टा आ–आफ्ना स्वार्थ त्यागी देशलाई आत्मनिर्भर बनाउने काम गरुन् भन्ने देशवासीको चाहना छ ।

देशभक्ति वा भनौँ राष्ट्रियता शब्दमा व्यक्त गरिने कुरा हो कि व्यवहारमा ? आखिर किन राष्ट्रियताप्रतिको बुझाई यति साँघुरो भएको हो ? कतै हामीले बुझ्नै नचाहेका हौं कि नबुझोस् भनेर युवाहरूलाई अल्मल्याइएको हो ? ‘हामी अन्याय गर्दैनौँ र सहँदैनौँ पनि’ भन्न नसक्ने र व्यवहारमा पनि सुरताल उतार्न नसक्ने हो भने, हाम्रो राजनीतिक र सामाजिक चेतनामाथि कसैले प्रश्न उठाउनु अन्यथा हुँदैन । सामाजिक सञ्जालहरूको प्रयोग सकारात्मक सन्देश प्रवाह गर्नका लागि भन्दा बढी दुरूपयोग गर्नका लागि हुने गरेको जगजाहेर छ । एकअर्कालाई पीडा थप्नका लागि सामाजिक सञ्चालको प्रयोग गर्ने र यसैलाई गजवको स्वतन्त्रता मान्ने हो भने हामी कहाँ पुग्छौं ?

एउटै व्यक्तिले पटक–पटक अवसर पाउनु हुँदैन, एउटै व्यक्तिले पटक–पटक टिकट पाउने र नेतृत्वमा पुग्ने अवस्था रहेकै कारण नेपालको राजनीतिमा समस्या देखिएको हो । पार्टीले टिकट वितरण गर्दा सबैलाई अवसर दिनुपर्छ । नेताको निकट भएको आधारमा होइन, उसले पार्टी र जनताका लागि गरेको योगदानका आधारमा टिकट दिनु पनि हो तर विडम्बना यसपटक पनि त्यस्तो भएको देख्न पाइएन । नयाँ व्यक्ति आएमा नयाँ सोचका साथ काम गर्छन् । जनतामा पनि केही आशा हुन्छ । नयाँ विचार, योजना र दृष्टिकोण भएका थुप्रै युवा पार्टीभित्र त छन् । तर, उनीहरूले अवसर नपाउँदा र अवसरमा दाबी गर्न नसक्दा खुम्चिएर बस्नुपरेको छ । सबै राजनीतिक दलका वद्ध नेतृत्वसँग अनुरोध छ– देशको जिम्मा युवालाई लगाइदिएर आफू पिँढीमा बसी नातिनातिनासँग रमाउनुहोस् ।

अब उमेर पुगेका सबै दलका नेता स्वतः राष्ट्रिय राजनीतिबाट बाहिर निस्किनुपर्छ र शिक्षित युवालाई देश जिम्मा लगाउनुपर्छ । युवा भविष्यका कर्णधार हुन् । प्रतिगामी राजा महेन्द्रले पनि युवालाई स्नातकको कोटाबाट नीतिनिर्माण गर्ने ठाउँमा जिम्मेवारी दिएको नबिर्सौं ।

टिप्पणीहरू