प्रधानमन्त्री र मन्त्रीहरू गाडी र झण्डाबिनै प्रचारमा
प्रधानमन्त्री र मन्त्रीहरूले ‘सरकारी स्रोत, साधन प्रयोग नगरिकन निर्वाचन आयोगको अनुमतिसहित चुनावी कार्यक्रमहरूमा भाग लिन पाउने भएका छन् । जारी आचारसंहितामा यो कुरा उल्लेख भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनु भएको छ ।
गत उपनिर्वाचनताका लिखित रूपमै आयोगसमक्ष नेकपा एमालेले यो अडान राखेको थियो । एमालेले आफ्नो दलका उम्मेदवारहरूलाई जिताउन मन्त्री भएकै कारण नजा भन्न सक्दैन भन्ने कुरा उठाएको थियो । यसै कुरालाई अहिलेको सत्तारुढ गठबन्धनले पनि स्विकारेपछि आयोगले चुनावी कार्यक्रममा प्रधानमन्त्री र मन्त्रीहरू सहभागी हुन पाउने व्यवस्थालाई स्पष्ट रूपमा व्याख्या गरेको हो ।
चुनावी सभामा मन्त्रीहरूको भाग लिन नपाउने व्यवस्था भनेको संसदीय प्रणालीविरोधी जिकिर लिइँदै आएको थियो । प्रधानमन्त्री र मन्त्रीहरूले मैले यति काम गरेँ भनेर जनतामाझ भन्न पाउनुपर्छ भने सोही मञ्चमा बसेर विपक्षले पनि सरकारमा रहेका मन्त्रीले काम गरेनन् भन्ने अवस्था सिर्जना हुनुपर्छ ।
स्मरणीय छ, निर्वाचन आयोगले उपनिर्वाचन तथा स्थानीय निर्वाचनमा प्रधानमन्त्री र मन्त्रीहरूले प्रचारमा सहभागी हुन नपाउने भन्दै एक सूचना जारी गरेको थियो । सो सूचनाको एमालेलगायत अन्य दलले कडा विरोध जनाउँदै आएका थिए ।
टिप्पणीहरू