केपी ओली स्वयंले उपेन्द्रलाई अर्को घरमा लगी पकाएर खुवाएपछि,पर्खी बसेका पहाडेहरू मध्यराति सोत्तर

केपी ओली स्वयंले उपेन्द्रलाई अर्को घरमा लगी पकाएर खुवाएपछि,पर्खी बसेका पहाडेहरू मध्यराति सोत्तर

एकातिर केपी ओलीले सामूहिक वार्ताबाट तानेर अर्को घरतिर लगी मध्यराति भान्सामा ‘फु–मन्तर’ गर्ने, अर्कातिर उपेन्द्र यादवले पार्टीभित्रका पहाडेको खासै चिन्ता नगर्ने ! मधेसीमा पनि प्रायः यादव–यादव छानेर भाग लिने भएपछि अहिले एमाले–जसपा गठबन्धनभित्रै अनेकन किचलो आइलागेका छन् ।

त्यसमाथि जसपासँग तालमेल गर्दागर्दै उसैविरुद्ध एकातिरबाट प्रभु साहलाई उकास्ने, अर्कातिरबाट सिके राउतलाई चम्काउने काम पनि केपी ओलीबाटै भयो भनी उक्त पार्टीका नेताहरू आगोझैँ दन्किएका छन् । अर्थात्, जसपाका पहाडे समुदायको न उपेन्द्रले चिन्ता गरेको पाइयो, न त ओलीले नै जसपासँग इमान्दार तालमेल गरेको देखियो ।

सत्ता गठबन्धनले १३–१४ सीट दिइसकेको अवस्थामा एमालेसँग जाने हल्ला चलेपछि ऊ जसपाका लागि १८–१९ दिनेमा पुगिसकेको थियो । तर, रघुवीर महासेठमार्फत कुरा आउँदा एमालेले २५ सीट सर्लक्कै दिन्छ भन्ने भएपछि ओलीसँग २–३ राउण्ड रात्रिकालिन वार्ता शुरु भयो । टुंगोमा पुग्दा २५ बाट झरेर १७ सीटमा आयो । यतिञ्जेलमा सत्ता गठबन्धनले जसपाको आश मारिसकेको थियो । उही मुख लिएर त्यो गठबन्धनमा फर्किने स्थिति नै भएन ।

दुनियाँ निदाएपछि ओलीसँग सबै वार्ता राति १० बजेपछाडि मात्रै भए । त्यसमध्ये समूहबाट तानेर कतिपय कुरा उपेन्द्र यादवसँग एक्लाएक्लै भए । बालकोटस्थित ओली बस्ने घरको उही कम्पाउण्डभित्र पल्लो घरमा लगेर उपेन्द्रसँग अन्तिम सहमति भएको थियो । त्यो पल्लोघर ओलीको भान्सा र सुत्ने घर हो । अन्तिम दिन लिखत नै गर्ने गरी भएको दुई जनाबीचको कुराकानी करिव तीन घण्टा चलेको थियो । आफैँले पकाई–तुल्याई, फकाई–फुल्याई उपेन्द्रसँग लिखित सम्झौता सिध्याउँदा २५ सीटको दावी १७ मा झ¥यो, राजेन्द्र श्रेष्ठ (काठमाडौं ७) र रकम चेम्जोङ (धनकुटा) हरू त्यहीबीचमा ‘सहिद’ भए । ओली र उपेन्द्र सहमतिको लिखत लिएर ३ बजेतिर समूहमा आउँदा एकछिन तनावको वातावरण बन्यो ।

उम्मेदवारी पाएका एकमात्र पहाडे अशोक राई हुन्, सुनसरी– १ बाट । उपेन्द्रले आफ्नालागि सुनसरी ४ माग्दा एमालेले दिन चाहेन । त्यो क्षेत्र उपेन्द्रको घर भएको ठाउँ (साविकको मधुवन गाविस) हो, जहाँ उनले ०४८ को चुनाव एमालेबाटै उठेर हारेका थिए । ०६४ मा फोरम बनाएर त्यहीँबाट जिते । अशोकले पाएको क्षेत्र सुनसरी १ मा एमालेका १० भाइको बाहुल्यता छ । एमालेले संघको लागि तय गरेका र ०७४ मा पनि जितेका सांसद जयकुमार राई अन्तिममा माधव नेपालको साथ छोड्नेभित्रका हुन् । त्यहाँको प्रदेशसभामा उठाइएका रमेश बस्नेत त पार्टी फुट्नुअघि माधव नेपालपक्षीय समानान्तर जिल्ला कमिटीकै अध्यक्ष थिए । एमाले र जसपाको झण्डै बराबरी मत रहेको क्षेत्र नंं. ४ मा ओलीपक्षले कुनै हालतमा छुटाउनै नसक्ने जगदिश कुुसियतलाई उठाउनु थियो । यसकारण एमाले उपेन्द्रलाई टिकट दिन तयार भएन । र, सट्टापट्टामा १ नं. क्षेत्र परेको हो । अर्थात्, आफ्नालागि नपाइने भएपछि ‘भैगो त’ भनेर जिल्ला नै छाड्न नमिल्दा अशोक राईलाई चिठ्ठास्वरुप क्षेत्र नं. १ परेको बताइन्छ । यसरी अघिल्लो पटक मधेशको ३२ सिट जितेको एमालेले यस पटक जसपासँग १६–१६ सिटको तालमेल गरेको छ ।

अर्कातिर, सहमति भइसकेर पनि मोरङमा एमालेको तर्फबाट तोडिएको छ । क्षेत्र नं. ४ अन्तर्गत प्रदेशसभा २ र ६ को १ मा देखादेखी सहमति तोडिएको हो । उपेन्द्रसँग लिखित सहमति गरेर त्यहाँ आफ्नै मान्छेलाई टिकट दिई पठाइयो । त्यसमाथि प्रभु साहलाई ओलीले नै उचालेको जसपाका नेताले आरोप लगाएका छन् । ‘नउचालेको भए कारवाही हुनुपथ्र्यो, त्यसो पनि गरिएको छैन’, जसपाका एक नेताले जनआस्थालाई बताए । उता, सिके राउतलाई सप्तरी २ मा उपेन्द्रसँग भिड्न उकास्ने पनि केपी भएको उनीहरूको आरोप छ । अब त्यहाँ लोसपाले गठबन्धनप्रति बेइमानी नगरे उपेन्द्रले जित्ने अवस्था हुन्छ । नत्र, लोसपा सिकेतिर मिलिदियो भने उपेन्द्रलाई अप्ठेरो पर्ने सम्भावना छ ।

टिप्पणीहरू