प्रकाशमानलाई आठ हजार मतले हराउने रवीन्द्र मिश्रको दाबी

प्रकाशमानलाई आठ हजार मतले हराउने रवीन्द्र मिश्रको दाबी

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रत्याशी राप्रपा उम्मेदवार रवीन्द्र मिश्रले आठ हजार मतान्तरले जित्ने दाबी गरेका छन् । उनी अघिल्लो पटक विवेकशील साझा पार्टीको अध्यक्ष हुँदा सोही क्षेत्रबाट आठ हजार मतले पराजित भएका थिए ।

उनलाई हराउने नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह यस पटक पनि सोही क्षेत्रमा उम्मेदवार छन् । सिंह सत्ता गठबन्धन दलका साझा उम्मेदवार हुन् ।

मिश्रले आज आयोजित पार्टीको अन्तरक्रिया कार्यक्रममा बोल्दै पहिलेको आठ हजार अब १६ हजार भएर आफूतिर थपिने बताए । ‘गत चुनावमा आठ हजार मतान्तरले हारेको थिएँ । यो पटक अर्को आठ हजार मतको अन्तरले जित्ने कुरामा ढुक्क छु,’ उनले भने ।

काठमाडौं क्षेत्र नम्बर १ का जनताले उनलाई झन् धेरै माया गरेको दाबी गरे । तर गत स्थानीय निर्वाचनमा विवेकशील साझा पार्टीले शर्मनाक पराजय व्यहोरेपछि उनी अध्यक्षबाट राजीनामा दिएर हालै राप्रापा प्रवेश गरेका हुन् ।

टिप्पणीहरू