काँडाघारीबाट प्रधानमन्त्री र प्रचण्डको भोट माग्ने अभियान शुरु

काँडाघारीबाट प्रधानमन्त्री र प्रचण्डको भोट माग्ने अभियान शुरु

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित गठबन्धनका शीर्ष नेताहरु काठमाडौँको काँडाघारी पुग्नुभएको छ । क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका साझा उम्मेदवारहरुलाई भोट माग्न उहाँहरु अहिले भर्खर त्यहाँ जानुभएको हो ।

प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरुले काठमाडौँ- २ निर्वाचन परिचालन समितिले कागेश्वरी मनहरा-९ स्थित शुभश्री पार्टी प्यालेसमा आयोजना गरेको उम्मेदवार परिचय तथा निर्वाचन परिचालन समिति घोषणासभा कार्यक्रमलाई सम्बोधन गर्ने तयारी छ । कार्यक्रममा प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी हुनुहुन्छ ।

अध्यक्ष नेपालले जित्दै आएको काठमाडौँ-२ मा यसपटक सत्ता गठबन्धनका तर्फबाट पूर्वसभामुख तथा माओवादी नेता ओनसरी घर्ती प्रतिनिधिसभातर्फ उम्मेदवार छन् । त्यस्तै, प्रदेश ‘क’ तर्फ कांग्रेसका धुर्व केसी र ‘ख’ मा एकीकृत समाजवादीका भरतप्रसाद फुयालको उम्मेदवारी छ ।

गठबन्धनका शीर्ष नेताको निर्वाचन क्षेत्रमा पूर्वसभामुख उम्मेदवार रहेकाले गठबन्धन दलहरुले काठमाडौँ-२ को जितलाई प्रतिष्ठाका रुपमा लिएका छन् । त्यहि कारण चुनावी अभियानमा व्यस्त शीर्ष नेताहरुले सो क्षेत्रलाई उच्च प्राथमिकतामा राखेका हुन् ।

कार्यक्रममा काँग्रेस क्षेत्रीय सभापति कविर शर्मा,संविधानसभा सदस्य तथा माओवादी नेता झक्कु सुवेदी, कुमार पौडेल,कागेश्वरी मनोहराका मेयर उपेन्द्र कार्की,काङ्ग्रेस केन्द्रीय सदस्यहरू,महाधिवेशन प्रतिनिधिहरू र गठवन्धनका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको छ।

टिप्पणीहरू