रोल्पाली माओवादी कमरेड पछि हट्लान् त !
सत्ता गठबन्धनका बागी उम्मेदवार दीपेन्द्रकुमार पुन ‘सिजल’लाई उम्मेदवारी निष्क्रिय पार्न माओवादी केन्द्रका शीर्ष नेताहरूले दबाब दिइरहेका छन् ।
रोल्पा (ख) बाट प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव वर्षमान पुनले आफ्नो निर्णयबाट पछि हट्न आग्रह गरेका छन् ।
उनी नेपाली कांग्रेसका उम्मेदवार तथा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनविरूद्ध चुनावी मैदानमा उत्रिएका हुन् ।
वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट रोल्पाको एउटा प्रतिनिधिसभा र प्रदेश (क) माओवादीले पाएको छ। त्यस्तै,प्रदेशसभा (ख) कांग्रेसको भागमा परेपनि पोलिट्व्यूरो सदस्यसमेत रहेका सिजल असन्तुष्ट बन्दै गठबन्धनको बागी उम्मेदवार बनेका हुन् ।
‘रोल्पा माओवादीको लाल किल्ला हो। यहाँ कांग्रेस कमजोर छ। माओवादीले कुनैपनि हालतमा प्रदेशसभा (ख) छाड्दैन,’माओवादी केन्द्र रोल्पाका एक सदस्यले भने, ‘यसपालि बागी उठेपनि सिजल कमरेडको जित पक्का छ।’
त्यसो त गठबन्धनभित्र सिट बाँडफाँट समितिको सदस्यसमेत रहेका वर्षमानविरूद्ध अर्को समूह खडा गरेका सिजलले आलोचनासँगै भारी समर्थन पनि पाइरहेका छन् ।
चुनाव चिन्ह पाएलगत्तै आफूनिकट कार्यकर्तासँगै चुनावी प्रचारमा लागेका छन् । माओवादीभित्र राम्रो राजनीतिक प्रभाव भएका सिजलमाथि उम्मेदवारी निष्क्रिय बनाउन वर्षमान आफै पनि निरन्तर लागिपरेको उनीनिकट स्रोतले जनाएको छ।
‘वर्षमान कमरेडले सिजल दाइसँग रोल्पा आएपछि लगातार भेटवार्ता गर्नुभएको छ । उहाँले अध्यक्ष कमरेड प्रचण्डसँग पनि फोनमा कुराकानी गराउनुभयो,’ वर्षमाननिकट एक प्रदेश कमिटी सदस्यले भने, ‘निर्वाचन सकिएलगत्तै सिजल दाइलाई राष्ट्रियसभामा लैजाने कुरामा वर्षमान र प्रचण्ड सकारात्मक देखिनुभएको छ।’
माओवादीनिकट स्रोतकाअनुसार पोलिट्व्यूरो सदस्य तथा निवर्तमान सांसद सिजललाई सत्ता गठबन्धनबाट बेलैमा व्यवस्थापनबारे नसोच्नु पार्टीको कमजोरी भएको शीर्ष नेताहरूले स्वीकार गरेका छन् ।
टिप्पणीहरू