आफ्नै क्षेत्रमा माधव नेपालको भाषण : भविष्य गठबन्धनकै छ, दायाँ-बायाँ नसोच्नु
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले धरापमा परिसकेको संविधानलाई रक्षा गरेर सत्तारुढ गठबन्धनले मुलुकलाई ठूलो दुर्घटनाबाट जोगाएको दावी गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको काठमाडौँ-२ मा आयोजित गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रतिगमनविरुद्ध लडेका दलका उम्मेदवारलाई जिताएर संविधानको रक्षा गर्न अपील पनि गर्नुभयो ।
अध्यक्ष नेपालले निर्वाचनपछि पनि सत्तारुढ गठबन्धनकै भविष्य रहेकाले आममतदाताले गठबन्धनलाई जिताउनुपर्ने पनि बताउनुभयो । साथै, उहाँले गठबन्धनका नेताहरुले जनताको समस्या समाधान गर्ने भन्दै सो कुरामा विश्वास गर्न आग्रह गर्नुभयो ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै अध्यक्ष नेपालले बिग्रिएको बानी सुध्रिन धेरै गाह्रो हुने बताउनुभयो । अहिले मुलुक एउटा अवस्थामा अगाडि बढिरहेको भन्दै उहाँले भोलीको निम्ति फेरी पनि खतरा विद्यमान रहेकाले सचेत हुन् आग्रह पनि गर्नुभयो ।
आफू सर्वसत्तावादको विरुद्धमा रहेको बताउँदै अध्यक्ष नेपालले भन्नुभयो, ‘देशले लोकतन्त्रको माग गरेको छ । देशको अधिनायकको माग गरेको होइन । देशले निरंकुशताको माग गरेको होइन । सर्वसत्ताको काम गरेको होइन । हामी सर्वसत्तावादको विरुद्धमा छौं । लोकतान्त्रिकरणको पक्षमा छौं ।’
अध्यक्ष नेपालले जित्दै आउनुभएको काठमाडौँ-२ मा यसपटक सत्ता गठबन्धनका तर्फबाट पूर्वसभामुख तथा माओवादी नेता ओनसरी घर्ती उठ्नुभएको छ । त्यस्तै, प्रदेश ‘क’ तर्फ कांग्रेसका धुर्व केसी र ‘ख’ मा एकीकृत समाजवादीका भरतप्रसाद फुयालको उम्मेदवारी छ ।
टिप्पणीहरू