राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी नगर्न निर्वाचन आयोगका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
रिटमाथि आज प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले यस्तो आदेश गरेको हो । साथै, अन्तरिम आदेशका लागि थप छलफल गर्न सर्वोच्चले दुबै पक्षलाई बोलाएको छ ।
आदेशमा रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने कुनै कारण भए ७ दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ ।
एकीकृत समाजवादीका नेतासमेत रहेका गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यलयले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । त्यसविरुद्ध कानुनी उपचार खोज्दै सर्वोच्च पुगेका उनलाई आजको आदेशले राहत मिलेको छ ।
अर्को सुनुवाइबाट सर्वोच्चले अन्तरिम आदेश खारेज नगरेमा गुरुङले आगामी मंसिरमा हुने निर्वाचनमा भाग लिन पाउने छन् ।
टिप्पणीहरू