देउवा,माधव र प्रचण्ड ४ गते हेलिकप्टरमा पोखरा र बुटवल जाने, भोलिपल्ट विराटनगर
गठबन्धनको पक्षमा माहोल बनाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुले सातै प्रदेशमा हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । आफ्ना उम्मेदवारहरुलाई जिताउन प्रदेशस्तरीय भेला गर्न लागेको गठबन्धनले शीर्ष नेताहरुलाई सम्बोधन गराउन लागेको हो ।
जसअनुसार प्रधानमन्त्रीसमेत रहनुभएका काँग्रेस सभापति शेरबहादुर देउवा,पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले गठबन्धनका कार्यकर्ता, समर्थक,शुभेच्छुक र आम मतदातालाई एउटै थलोबाट सम्बोधन गर्ने छन् ।
गठबन्धनले कार्तिक ४ गते गण्डकी प्रदेशमा पहिलो संयुक्त सभा गर्नेछ । पोखरामा हुने भेलाको तयारीको समन्वय समाजवादीले गर्ने तय भएको छ । सोही दिन दिउँसो २ बजे लुम्बिनी प्रदेशको बुटवलमा हुने सभाको समन्वय गर्ने जिम्मा नेपाली कांग्रेसले पाएको छ ।
भोलिपल्ट कार्तिक ५ गते प्रदेश १ को विराटनगर र मधेसको जनकपुरमा संयुक्त चुनावी सभा हुँदैछ । दुवै सभाको तयारीसम्बन्धी समन्वय गर्ने जिम्मा कांग्रेसले नै पाएको छ ।
कात्तिक ६ गते माओवादी केन्द्रको संयोजनमा धनगढीमा सभा राखिएको छ भने त्यही दिन सुर्खेतमा हुने संयुक्त सभाको समन्वय काँग्रेसले गर्नेछ । कात्तिक ७ गते अन्तिम संयुक्त सभा काठमाडौँमा हुने तय भएको छ । माओवादीको समन्वयमा सो सभा हुनेछ ।
संयुक्त चुनावी सभालाई देउवा,प्रचण्ड, माधवसहित गठबन्धन दलका अन्य नेताहरुले पनि सम्बोधन गर्ने तयारी छ ।
चार दलले गठबन्धनको तर्फबाट संयुक्त अपील प्रकाश गर्न समिति पनि गठन गरेको छ । गठबन्धनका दलहरूलाई प्रभावकारी रुपमा परिचालन गर्न केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन परिचालन समन्वय समिति गठन गर्ने निर्णय भएको छ ।
जिल्लाको आवश्यकताअनुसार गठबन्धनका दलहरूबीच छलफल गरी आवश्यकताअनुसार अन्य समितिहरू गठन गर्न सक्ने निर्णय पनि चार दलले गरेका छन् ।
टिप्पणीहरू