सहकारीमा दिनदहाडै लुटपाट, गोली लागेर प्रमुख सिकिस्त

सहकारीमा दिनदहाडै लुटपाट, गोली लागेर प्रमुख सिकिस्त

सर्लाहीको बागमतीस्थित मिलनचोकमा रहेको एक सहकारी संस्थाको सेवा केन्द्रमा दिनदहाडै लुटपाट भएको छ । आज बिहान १० बजेतिर बागमती–१ मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र लुटिएको हो ।

केन्द्रका प्रमुख लालबन्दी नगरपालिका–२ जुटपानीका साजन कार्कीलाई गोली हानेर लुटेरा समूहले लुटपाट मच्याएको प्रहरीले जनाएको छ । शुरुमा सहकारीमा छिरेका तीन जनाले कार्कीलाई पैसा दिन धम्क्याएका थिए । तर, उनले प्रतिकार गरेपछि गोली प्रहार गरेको घाइते कार्कीलाई उद्धृत गर्दै सहकारीका अध्यक्ष केशव ढकालले जानकारी दिए । उनका अनुसार लुटेराहरू भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका थिए ।

कार्कीलाई चार वटा गोली लागेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । लुटेरा समूहले चलाएको गोली कार्कीको पाखुरा, तिघ्रा, कुम र कोखामा लागेको छ । गोली लागेका कार्कीलाई हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौं रेफर गरिएको अस्पतालका डाक्टर राजीव साहले बताए ।

लुटेरा समूहले कार्कीमाथि कार्यालय खोल्ने बित्तिकै आक्रमण गरेको घाइतेलाई उदृत गर्दै सहकारीका कर्मचारी दिनेश श्रेष्ठले बताए । ‘उनीहरूले बिहान कार्यालय खोलेलगत्तै आक्रमण गरे’, भने, ‘कार्कीले ब्यागमा लगेको पैसा ड्रएरमा खन्याई सकेकाले उनीहरूले ब्याग मात्र लिएर गएको प्रारम्भिक जानकारी आएको छ ।’

लुटेरा समूहले केही दिनदेखि उक्त शाखामा कार्यरत कार्कीको निगरानी गरिरहेको आशंका छ । हिजो मात्र पनि त्यो समूहका केही मानिस कार्यालय आसपास घुमिरहेको पाइएको छ । घटनालगत्तै लुटेरा समूह दक्षिणतर्फ फरार भएको स्थानीयले बताएका छन् ।

उनीहरूको खोजी भइरहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

हरिवनमा मुख्य कार्यालय रहेको सगुन सहकारी संस्थाले बागमतीको मिलनचोक लालबन्दी, ईश्वरपुरलगायत स्थानमा सेवा कार्यालय सञ्चालन गरेर शेयर सदस्यहरूलाई वित्तिय सेवा प्रवाह गर्दै आइरहेको छ ।

टिप्पणीहरू