राष्ट्र बैंकमा दिनहुँ सेलरोटी, काँग्रेसले कात्तिकभित्रै खुवाउने
मुलकको केन्द्रीय बैंकको मुख्यालय, बालुवाटारमा कात्तिक लागेपछि दिनहुँ सेलरोटी कार्यक्रम आयोजना गरिएको छ । आज बैंक हातामा भाषण गर्दै गभर्नर महाप्रसाद अधिकारीसहित कर्मचारीहरुले सेलरोटी खाएका हुन् ।
एमाले समर्थित कर्मचारी संघले तिहारलगायत चाडपर्वको अवसरमा यस्तो कार्यक्रम आयोजना गरिँदै आएको बताएको छ । हिजो सोही उपलक्ष्यमा माओवादी निकट कर्मचारी संगठनले सेलरोटी पकाएको थियो ।
अधिकारीलाई अर्थमन्त्री जनार्दन शर्माको पहलमा सरकारले पदमुक्तको प्रयास गरेपछि बैंकको कर्मचारी संगठनका कार्यक्रममा सहभागी हुन सकेसम्म गभर्नर इच्छुक नरहेको सोही संगठनका कर्मचारीले बताएका छन् ।
माओवादी संगठनको हिजोको सेलरोटी कार्यक्रमको प्रमुख अतिथि डेपुटी गभर्नर निलम तिम्सिनालाई बनाइएको थियो । आज गभर्नर महाप्रसाद अधिकारीलाई बोलाइएको हो ।
गत चैतमा गभर्नर अधिकारीलाई अर्थमन्त्री जनार्दन शर्माको पहलमा सरकारले पदमुक्तको प्रयास गरेपछि बैंकको कर्मचारी संगठनका कार्यक्रममा सहभागी हुन सकेसम्म गभर्नर इच्छुक नरहेको सोही संगठनका कर्मचारीले बताएका छन् । तर, यस पटक गभर्नर अधिकारी अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यक्रममा भाग लिएर अमेरिकाबाट हिजो मात्र स्वदेश फर्कनुभएकाले डेपुटी गभर्नर हिजोको कार्यक्रममा सहभागी हुनुभएको बैंकको उच्च स्रोतले बतायो ।
यता बैंकमा रहेको नेपाली काँग्रेस निकट वित्तीय संस्था कर्मचारी संघले भने लगातार रोटी खुवाउँदा कर्मचारीको स्वास्थ्यमा असर पर्ने र बैंकको काममा बाधा पुग्ने जनाउँदै भोलि आयोजना गर्ने भनिएको सेलरोटी कार्यक्रम स्थगित गरेको बताइन्छ । संघका एक जना पदाधिकारीले भने, ‘दिनदिनै रोटी पकाउने, खुवाउने गर्दा बैैंकको काममा बाधा पुगेको देखियो । त्यसैले भोलि नगर्ने निर्णय गरेका हौं । तर कात्तिकभित्रै एक दिन कर्मचारीलाई सेलरोटी खुवाउँछौं ।’
टिप्पणीहरू