विपी कोइराला मेरो पनि नेता हुनुहुन्छ : मन्त्री चौधरी

विपी कोइराला मेरो पनि नेता हुनुहुन्छ : मन्त्री चौधरी

दाङको निर्वाचन क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार एवम् सहरी विकासमन्त्री मेटमणि चौधरीले विपी कोइराला आफ्नो पनि नेता भएको धारणा राख्नुभएको छ ।

घोराही–२, पलासेमा हिजो आयोजित वाम–लोकतान्त्रिक गठबन्धन दलका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले आफूले विकास कार्यमा दल विशेष नहेर्ने उल्लेख गर्ने क्रममा उक्त विपीको सन्दर्भ जोड्नुभएको हो ।

सांसद बनेलगत्तै सांसद विकास कोषको रकमबाट पाँच वर्षअघि पहिलो कार्य विपी स्मृति भवनका लागि १५ लाख र त्यसपछि क्रमशः थप्दै ८० लाख हालिएको उहाँको भनाइ छ । त्यसपछि फिनिसिङ गर्न थप १ करोड उपलब्ध गराएको उहाँले बताउनुभयो । यसो गर्नुको कारण उल्लेख गर्दै मन्त्री चौधरीले भन्नुभयो, ‘विपी कोइराला मेरा पनि नेता हुनुहुन्छ । मैले त्यतिबेला काँग्रेससँग गठबन्धन हुने कल्पना गरेर बजेट दिएको थिइनँ । यसपाली जनमोर्चाका साथीहरुले भवन बनाइदिन अनुरोध गर्नुभएको छ । उहाँहरुको लागि पनि भवन बनाउने छु ।’

सांसद विकास कोषको रकम प्रयोगको निम्ति सबै दलका नेतासँग छलफल गरेरै बाँडफाँड गरिएको उहाँको भनाइ छ । ‘विकास सबैको साझा चाहना भएकाले सबैलाई मिलाएर हिँड्न जरुरी छ । समाज र जनताको विभाजन कसैको हितमा हुँदैन,’ मन्त्री चौधरीले उल्लेख गर्नुभयो ।

टिप्पणीहरू