एमालेका ऐनबहादुरलाई २४ घण्टे पूर्जी
निर्वाचन आयोगले बझाङबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार ऐनबहादुर महरलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । एमाले नेतासमेत रहेका महरले जिल्लास्तरीय खुला प्रतियोगिताका विजेतालाई निर्वाचन आचारसंहिताविपरीत नगद पुरस्कार वितरण गरेपछि आयोगले पत्र काटेर प्रष्टीकरण मागेको हो ।
आयोगले महरलाई पठाएको पत्रमा प्रतियोगिताको प्रथम पुरस्कार ४१ हजार रुपैयाँ प्रदान गरेको विषय सामाजिक सञ्जालमा सार्वजनिक भएको भन्दै के कसो भएको हो ? भनि सोधिएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) मा ‘कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ कुरा पत्रमा स्मरण गराइएको छ ।
निर्वाचन आचारसंहिताको दफा १३ को खण्ड (झ) मा ‘विभिन्न क्लब सामाजिक संसथा, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन वा बुथ खर्च दिन वा घोषणा गर्न नहुने’ व्यवस्था छ ।
‘उल्लेखित कानूनी व्यवस्थाअनुसार तपाईंबाट भएको भनिएको पुरस्कार स्वरुप नगद वितरण गर्ने कार्य निर्वाचन आचारसंहिता प्रतिकूल देखिन्छ,’ आयोगको स्पष्टीकरण पत्रमा उल्लेख छ ।
पत्रमा अगाडि भनिएको छ, ‘तपाईंबाट पुरस्कार स्वरुप नगद वितरण भएको बारे के कसो भएको हो ? यदि तपाईंबाट नगद वितरण कार्य भएको हो भने तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम किन कारबाही हुनु नपर्ने हो ?’
आयोगले कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्न महरलाई निर्देशन दिएको छ ।
टिप्पणीहरू