दुई लाख बुझाएर अर्बपति दूतावासतिर

दुई लाख बुझाएर अर्बपति दूतावासतिर

अर्बपतिसँग जम्माजम्मी दुई लाख रुपैयाँ लिइयो, त्यसबापत एउटा अवार्ड अनि चुनावी प्रचार हुने गरी बोल्न पनि दिइयो । तर, कार्यक्रमकै प्रमुख अतिथिले गाली गरेर भाषण छोट्याइदिँदा आयोजकको अनुहार हेर्नलायकको भयो ।

एशोसिएसन अफ चार्टर्ड एकाउण्टेन्ट (एक्यान) को ३८ औँ वार्षिक साधारणसभामा यस्तो रमिता देखिएको हो । गत शुक्रबार ¥याडिसन होटलमा ‘दिगो आर्थिक विकास’ विषयक कार्यशाला गोष्ठीको आयोजना गरिएको थियो । त्यसमा दिगो विकाससम्बन्धमा योजना आयोगका पूर्वउपाध्यक्ष डा.स्वर्णिम वाग्ले र दिगो विकास र सुशासन शीर्षकमा पूर्वमुख्यसचिव लीलामणि पौडेलको कार्यपत्र पेश भएका थिए । त्यही कार्यक्रमअन्तर्गत कर्पोरेट हाउसबाट ‘सफल व्यवसायी’ भन्दै डलर अर्बपति विनोद चौधरी र ‘सामाजिक अभियन्ता’ का नाममा गायिका आनी छोइङ डोल्मालाई अवार्ड दिइयो । ‘बैंकका सिइओमध्येबाट’ भन्दै ग्लोबल आइएमईका रत्नराज बज्राचार्यलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिइएको थियो ।

प्रमुख अतिथि, कार्यपत्र प्रस्तोता र टिप्पणीकर्ताले मात्रै बोल्ने सेड्युल बाँडिएको थियो । तर, एकाएक केही आयोजक नै छक्क पर्ने गरी फुत्त विनोद चौधरी प्रकट भए । उनले त्यहाँ भोट मागे । भने, ‘अब चुनावमा भेट नहोला । मलाई भोट मागिदिनुस्, तपाईंहरुका नातापाता पश्चिम नवलपरासीमा होलान् ।’ निर्वाचन आयोगले उम्मेदवारहरुलाई कात्तिक १८ अघि भोट माग्न नपाइने भनेको छ । त्यसअघि भोट मागेमा उम्मेदवारी खारेज हुनेसम्मको चेतावनी छ ।

तर, डलर अर्बपतिलाई अहिलेसम्म त्यस्तो नियमले केही बिगारेको छैन । बरु, उनले भाषणका क्रममा राजनीतिक नेतृत्वलाई गाली गर्न भ्याए । भने, ‘म राजनीतिमा किन आएँ ? किनकि, मसँग धन छ, सबैसँग चिनजान छ । शक्तिको नजिक बसेर काम गरेको छु । व्यापार संसारभरि छ ।’ उनले भने, ‘कुनै काम लिएर नेताकहाँ गयो, कर्मचारी देखाउने, कर्मचारीलाई देखायो नेता देखाउने गर्छन् । त्यसैले अब सीधै आफैँ डिल गर्न म राजनीतिमा आएँ ।’ उनले केही वर्षदेखि बनाउने भनेर भत्काइएको नारायणघाट–बुटवल सडकखण्डको काम आफूले बनाउने भनी प्रचार गर्न भ्याए । भने, ‘हिजो व्यवस्थापनमा थिएँ । म व्यवस्थापनको मर्म बुझेको मान्छे हुँ ।’ चौधरीले यसो भनिरहँदा अतिथिका रुपमा बसिरहेका महालेखा परीक्षक टंकमणि शर्मा छट्पटाइरहेका थिए ।

किनभने उनैले हो आन्तरिक राजश्वको डिजी हुँदा नक्कली भ्याट बिलमा चौधरीलाई दोषी ठह¥याएको र महालेखाको रिपोर्टमा नबिलको डिभिडेन्ट विदेश लान दिएको बारे राष्ट्र बैंकका नाममा बेरुजु देखाइदिएको । डेढ घण्टासम्म कुर्न बाध्य भएपछि प्रमुख अतिथि डा.बाबुराम भट्टराई चाहिँ डेढ मीनेट आयोजकलाई गाली गरी निस्किएर हिँड्नुभयो ‘समय पालना गर्नुपर्छ’ भन्दै । चौधरीप्रति लक्ष्यित उहाँको भनाइ थियो, ‘व्यवसायीको पिछलग्गु हुने तपाईंहरु दलाल पुँजिपतिहरुका गलत काममा रफ्फु भर्ने ?’ टंकमणिले दिगो विकासमा ठेकेदार, इञ्जिनियर र योजनाकार बोलाउनुपर्नेमा व्यापारी बोलाएर जात्रा देखाइएको भन्दै फेरि आयोजकलाई नै गाली गरे ।

खासमा त्यहाँ अवार्ड दिने कार्यक्रम नै थिएन । कार्यक्रममा ककटेल डिनर खुवाउन चौधरीको नबिल बैंकले दुई लाख रुपैयाँ प्रायोजन गरेको थियो । एक्यानका अध्यक्ष दिपक पाण्डे (स्याङ्जाली) आफैँले उक्त नगद बुझेका रहेछन् र चौधरीलाई अवार्ड दिए । चौधरीचाहिँ त्यहीँबाट सीधै लैनचौरस्थित भारतीय दूतावास पुगे । उनले त्यहाँ राजदूतसँग तीन घण्टा कुरा गरे र हृदयेशलाई हराउन सहयोग मागे । उनी दूतावासमा हुँदा छोरा राहुल यता ¥याडिसनको कार्यक्रममा सामेल भए ।

हाइड्रो बोक्ने, थापाथलीको जग्गा ताक्ने

डलर अर्बपति विनोद चौधरीले एक थोक देखाएर काम अर्कै गर्न थालेको साढे तीन दशक भएको अर्को रहस्य खुलेको छ । उनले हाइड्रो अर्थात जलविद्युत परियोजना निर्माणसम्बन्धी कम्पनी खरिद गरेर प्राविधिक रुपमा अर्कै संस्थाले किनेको महँगो जग्गा हात पार्न आजसम्म कोशिस गरेको देखिन आएको छ ।

नेपालमा जलविद्युत परियोजनाको विकास गर्ने उद्देश्यले युनाइटेड मिसन टु नेपाल (युएमएन) ले सहायक कम्पनी खोलेको थियो । सन् १९५९ मा काठमाडौंको थापाथली हाइटमा खुलेको उक्त संस्थाले पहिले घर र जग्गा भाडामा लिएको आफ्नै वेवसाइटमा बकायदा लेखेको छ । त्यसपछि सन् १९८६ मा भाडामा बसेको घर र जग्गा घरधनीले बिक्री गर्ने भएपछि युएमएनले खरिद गरेको उसको दाबी छ ।तर, नेपालको प्रचलित कानुनअनुसार उक्त जग्गा युएमएनको नाममा रजिष्ट्रेसन पारित गर्न नमिल्ने भएपछि संस्थाले स्थापना गरेको हिमाल हाइड्रोको नाममा किनिएको बताइएको छ । युएमएन र स्थानीय कम्पनी हिमाल हाइड्रोबीच भएको त्यतिबेलाको सम्झौतामा समेत जग्गामा हाइड्रोको नभएको व्यहोरा उल्लेख छ । सोही सम्झौतामा पछि कम्पनीको स्वामित्व अन्यत्र गएको अवस्थामा जग्गा युएमएनलाई हस्तान्तरण गर्नुपर्ने भनिएको थियो । त्यसको निम्ति उसले युनाइटेड मिसन नेपाल सर्भिसेज प्राइभेट लिमिटेड कम्पनीको स्थापना गरेको हो ।

यसबीच हिमाल हाइड्रो डलर अर्बपति विनोद चौधरीले किने । तर सन् १९८६ को सम्झौता उल्लंघन गर्दै आजसम्म पनि उक्त जग्गामाथिको दाबी छाडेका छैनन् । त्यसपछि सो विषय नेपाल सरकारसमक्ष पुग्यो । आठ वर्षअघि सन् २०१४ को फेब्रुअरीमा उक्त जग्गा नेपाल सरकारले क्याबिनेट निर्णयानुसार स्वतः नेपाल सरकारको हुने बताएको हो ।

त्यसपछि युएमएनले सबै श्रीसम्पत्ति नेपाल सरकारलाई बुझाएर मुलुकबाट लगभग फर्किने निर्णय गर्यो । त्यतिबेला युएमएनले सर्वोच्च अदालतमा अन्तरिम आदेश माग गर्दै मुद्दा दायर गरेको थियो । सरकारसँग आफ्नो निर्णय सच्चाउने वा सर्वोच्च अदालतको आदेश कुर्नेबाहेक अर्को विकल्प त्यतिबेला थिएन ।

सन् २०१४ मार्च २५ मा प्रारम्भिक सुनुवाईबाटै सर्वोच्चले अन्तरिम आदेश दियो । दुई वर्षपछि सर्वोच्च अदालतले उक्त मुद्दामा फैसला सुनाउँदै क्याबिनेट निर्णय बदर गरिदियो । तर, अहिले त्यही जग्गा आफ्नो स्वामित्वमा रहेको हिमाल हाइड्रोको भएकाले चौधरीले दाबी नछाडेको स्रोतको भनाइ छ ।

विशेषगरी जलविद्युत परियोजना विकासको निम्ति सुरुङ खन्ने विशिष्टिकृत कामको लागि युएमएनले उक्त कम्पनी स्थापना गरेको थियो । त्यतिबेला बेलायती र नर्वेजियन प्राविधिकहरुको बाहुल्यता भएकाले कम्पनीको स्तर निकै स्तरीय मानिन्थ्यो । चौधरीले उक्त कम्पनी खरिद गरेपछि सम्पत्ति बिक्री गरे पनि कामदारको तलब, सञ्चयकोष,नागरिक लगानी कोष नतिरेको भन्दै उनीहरुले डलर अर्बपतिविरुद्ध त्यतिबेलै श्रम विभागमा उजुर गरेका थिए ।

तलबलगायत केही पनि नदिएपछि उजुरी दिएकाहरुले हारथाक भएर कम्पनी छाडेको श्रम विभागका एक जना अवकाशप्राप्त हाकिमले बताए । श्रम विभागमा विभिन्न दबाबका कारण श्रमिकको उजुरमाथि बेलैमा सुनुवाई नहुँदा ती सबै तितरबितर भएका हुन् । अहिले उक्त कम्पनीको काम पर्वतमा एउटा १५ मेगावाटको जलविद्युत कम्पनी निर्माणमा सीमित छ ।

उनै चौधरी भने नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ संघीय संसदको निम्ति उम्मेदवार बनेका छन् । दिनहुँ सामाजिक सञ्जालमा जनताको आर्थिक समृद्धिको निम्ति आफू लागिपरेको बताउँदै फोटो र लामो स्टाटस हाल्ने गरेका छन् । तर, उनले विगतदेखि वर्तमानसम्म निमुखा कर्मचारी र कामदारको पेटमा कसरी लात हान्दै आएका छन् र सरकारी जग्गामा कसरी आँखा गाडेका छन् भन्ने कुरो युनाइटेड मिसन टु नेपालको वेवसाइटबाट पनि छर्लङ्ग हुन्छ ।

टिप्पणीहरू