सशस्त्रको टु टन गाडी दुर्घटनामा साइकल यात्रीको मृत्यु
कपिलवस्तुमा भएको सशस्त्र प्रहरी बलको टु टन गाडी दुर्घटनामा एक जना साइकल यात्रीको ज्यान गएको छ । आज साँझ ७ बजे भएको दुर्घटनामा अमर सलामी मगरको मृत्यु भएको बताइएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर २८ गण हेडक्वार्टर, कपिलवस्तुबाट सुरक्षा बेस, विसनपुरमा निर्वाचन क्षेत्र सुरक्षा बेस स्थापनाको निम्ति थप टोली लिइगएको ट्रकले ठक्कर दिँदा साइकलयात्रीको घटनास्थलमा मृत्यु भएको छ । ना. १ ग ५५४ नम्बरको टु टन गाडी टोली पुर्याएर फिर्ता हुने क्रममा कपिलवस्तुको बाणगंगा नगरपालिका ३ ओदारी र गजेडाको बीचमा रहेको सिउडी चोकमा स्थानीय साइकलयात्री अमर सलामी मगरको साइकलमा ठोक्किएको हो ।
बाटो क्रस गर्ने क्रममा साईकलयात्रीको घटनास्थलमै मृत्युभएको छ भने गाडीमा रहेका सशस्त्रका चार जना घाइते भएका छन् । कमाण्डर तथा सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी, सशस्त्र प्रहरी सहायक हवल्दार रमेश चौधरी र सशस्त्र प्रहरी जवान प्रेम मल्लको सामुदायिक अस्पताल जीतपुरमा उपचार भइरहेको छ ।
घाइते सशस्त्र प्रहरी जवान जनक चौधरीलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको छ । मृतक मगरको शव सामुदायिक अस्पताल जीतपुरमा राखिएको बताइएको छ ।
टिप्पणीहरू