पूर्वप्रधानमन्त्रीमाथि उपहार बेचेको आरोप, चुनावमा उम्मेदवार हुन रोक
पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई गैरकानूनी रूपमा उपहारहरु बेचेको आरोप लगाउँदै सार्वजनिक जिम्मेवारी र पदमा बस्नबाट रोक लगाएको छ ।
वर्तमान गठबन्धन सरकारले खानले विगतमा प्रधानमन्त्री छँदा विदेशका प्रतिष्ठित व्यक्तिहरूले प्रदान गरेको उपहार बेचेको र प्राप्त रकमको विवरण सार्वजनिक नगरेको भन्दै सार्वजनिक पद र जिम्मेवारीबाट मुक्त गराउनुपर्ने आदेशको माग गर्दै आयोगमा निवेदन हालेको थियो ।
खानका वकिलहरूले आयोगको फैसलालाई उच्च अदालतमा चुनौती दिने बताएका छन् । खानले पहिलेदेखि नै उक्त मुद्दालाई सत्तारुढ दल र सरकारको राजनीतिप्रेरित चाहना भन्दै आएका थिए ।
बीबीसीका अनुसार उनले गत महिना प्रधानमन्त्रीको रूपमा आफ्नो कार्यकालमा प्राप्त बहुमूल्य चार उपहार बिक्री गरेको जनाएको छ । बिक्री गरिएका उपहारमा रोलेक्स घडी, एउटा औंठी र कफ लिंकहरूको एक जोडी भएको बताइएको छ ।
पाकिस्तानमा सरकारी अधिकारीहरूले ओहोदामा छँदा प्राप्त गरेका सबै उपहारबारे सार्वजनिक रुपमा घोषणा गर्नुपर्ने कानुनी व्यवस्था छ ।
टिप्पणीहरू