आज धनतेरस मनाइँदै, गहना पसलमा भीड
हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज मनाइँदै छ । धनवन्तरी जयन्ती भने भोलि परेको छ ।
आजको दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ । धन र सम्पन्नताका लागि कुबेरको पूजा गर्ने चलन छ । आजैका दिन धनी र सम्पन्नहरुले मूल्यवान धातुका साथै नयाँ भाँडाकुँडा र गरगहना किन्ने गर्छन् ।
बिहानैदेखि राजधानीका सुनचाँदी पसलमा मानिसको भीड लागेको छ । हिजो अबेरसम्म काठमाडौंको बबरमहलस्थित टक्सार विभागमा सुन र चाँदीका सिक्का किन्नेको लामो लाइन देखिन्थ्यो । नेपाल राष्ट्र बैंकको टक्सार विभागले सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको लागि राखिएको सूचना जारी गरेपछि त्यहाँ पनि हिजो उल्लेख्य संख्यामा सर्वसाधारण पुगेका थिए ।
तिथिको घटबढका कारण भोलि काग तिहार परेको छ । सोमबार बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा एकै दिन परेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
टिप्पणीहरू