बिहान कुकुर तिहार, बेलुकी लक्ष्मीपूजा
हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज कुकुर तिहार र लक्ष्मीपूजा मनाइँदैछ । बिहान घर–घरमा कुकुरको पूजा गरेर कुुकुर तिहार मनाइँदैछ भने लक्ष्मीपूजा भने बेलुकी गरिँदैछ ।
कात्तिक कृष्ण चतुर्दशीको दिन पर्ने कुकुर तिहारमा यमदूतको भक्त कुकुरको पूजाआरधना गरेर माला लगाइदिने चलन छ । आज कुकुरलाई मीठा–मीठा परिकार खान दिइन्छ । कुकुर तिहारका दिन घर पालुवालाई मात्रै नभई सडकका कुकुरहरुलाई पनि पूजेर मीठो खाना खुवाइन्छ ।
हिन्दु धर्ममा कुकुरलाई आज्ञापालक र वफादार मानिन्छ । अपराधी पत्ता लगाउनेदेखि लिएर अध्ययन अनुसन्धानमा समेत कुकुरको प्रयोग हुँदै आएको छ । कुकुरले घरको रेखदेखदेखि चोरीडकैतीबाट बचाउने कामसमेत गर्दै आएको छ ।
त्यसैगरी, कुनै प्राकृतिक प्रकोप तथा दैवीविपत्ति हुने बेलामा कुकुरले पूर्वसूचना दिने बताइन्छ । यस्तै, कुकुरलाई भगवान भैरवको वाहनको रुपमा पनि चिनिन्छ ।
मानव सभ्यताको विकासदेखि नै हरेक समय कुकुरहरुले मानवहरुको सहयोग गरेको पाइन्छ । कुकुर तिहारको दिन मानव समाज र कुकुरहरुबीच बलियो सम्बन्धको अर्चना गरिन्छ ।
जति नै दुःखकष्ट परे पनि कुकुरले आफ्नो मालिकको साथ कहिल्यै छाड्दैन् । त्यसैले, मानवजातिले कुकुरलाई आफ्नो विश्वासिलो साथीको रुपमा लिने गर्छन् ।
आजै लक्ष्मीपूजा
कुकुर तिहारसँग लक्ष्मीपूजा पनि एकैदिन परेको छ । आज बेलुकी घर–घरमा धनकी देवी लक्ष्मीको पूजाआजा गरिँदैछ । घर आँगन सफा गरेर बत्ती बालेर झिलीमिली बनाई विधिवत तरिकाले देवी लक्ष्मीको पूजा गरिन्छ । बत्ती नबालेको र उज्यालो नभएको घरमा लक्ष्मीको बास हुँदैन भन्ने धार्मिक विश्वास छ ।
लक्ष्मीपूजाको रातलाई सुःखरात्री पनि भनिन्छ । लक्ष्मी भित्र्याउन घरको आँगनदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातो माटोले लिपेर त्यसमा चामलको पिठो र अबिरले पाइला बनाउने चलन छ ।
त्यस्तै, आज साँझ लक्ष्मीपूजा गरेपछि भैलो शुरु हुन्छ । युवती र महिलाहरु समूह–समूह बनाई हर्षोल्लासका साथ भैलो खेल्ने परम्परा छ । लक्ष्मीपूजाको रात घरमा लक्ष्मी प्रवेश गर्छिन् भन्ने धार्मिक विश्वास छ ।
टिप्पणीहरू