चुनावको एक महिना अगावै ७० प्रतिशत मतपत्र छापिएको आयोगको भनाइ

चुनावको एक महिना अगावै ७० प्रतिशत मतपत्र छापिएको आयोगको भनाइ

आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनको निम्ति मतपत्र छाप्ने कार्य ७० प्रतिशत सम्पन्न भएको छ । प्रत्यक्षतर्फ १ करोड ६७ लाख ५ सय मतपत्र छापिएको निर्वाचन आयोगले जनाएको छ ।

त्यसमध्ये प्रतिनिधि सभाका लागि ८७ लाख १ हजार र प्रदेश सभाको निम्ति ८० लाख ५७ हजार ५ सय मतपत्र छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब ४ करोड थान मतपत्र यसअघि नै छपाइ सम्पन्न भइसकेको छ ।

निर्वाचनमा कुल १ करोड ७९ लाख ८५ हजार ७० जना मतदाता छन् । ती मतदाताले समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने दुई प्रणालीका लागि चार वटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ । जसअनुसार आगामी निर्वाचनका लागि करिब आठ करोड थान मतपत्र आवश्यक पर्छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ ६८ जिल्लामा मतपत्र ढुवानी भइसकेको जनाइएको छ । अब नौ वटा जिल्लामा मात्र मतपत्र ढुवानी हुन बाँकी छ । ढुवानी भएकामध्ये प्रदेश सभाका लागि १ करोड ९६ लाख १७ हजार तथा प्रतिनिधि सभातर्फ १ करोड ९३ लाख १३ हजार मतपत्र रहेको छ ।

अब प्रदेश सभाको ५ लाख ६८ हजार तथा प्रतिनिधि सभाको ५ लाख ५८ हजार मतपत्र मात्र ढुवानी हुन बाँकी रहेको आयोगले जानकारी दिएको छ ।

टिप्पणीहरू