लक्ष्मीपूजाको समयमा पानी पर्ने पूर्वानुमान

लक्ष्मीपूजाको समयमा पानी पर्ने पूर्वानुमान

आज साँझ मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको बताइएको छ । हाल देशमा पश्चिमी वायुको समान्य प्रभाव रहेको र पूर्वी नेपालमा बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्र ‘सित्रङ्ग’ को अप्रत्यक्ष आंशिक प्रभाव रहेको कारण वर्षाको सम्भावना रहेको बताइन्छ ।

उक्त मौसमी प्रणालीको प्रभावका कारण मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसोदेखि प्रदेश १ र मधेश प्रदेशलगायत मुलुकका पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना छ । साँझसम्म मधेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

आज काठमाडौँको न्यूनतम तापक्रम ११ र अधिकतम तापक्रम २७ डिग्री सेल्सियस रहेको पनि जानकारी दिइएको छ ।

टिप्पणीहरू