किन होला यो मायाको संसार विचित्र
जीवन पानीजस्तै रहेछ । जुन रंग हाल्यो त्यही रंग बन्ने । कालो रंग हाले कालो, रातो हाले रातो, नीलो हाले नीलो, जस्तो रंग हाल्यो त्यस्तै । तर, न पानीको रंग हुन्छ न गन्ध नै ! जसले जसरी अथ्र्यायो त्यही भइदिन्छ । हो, पानी र उनीबीच केही भिन्नता छैन । खोलानालामा बगेको पानीजस्तै उनी पनि बेसुरले बगिरहेका छन् । अनेकन घुम्तीसँग ठोकिँदै बेग मारिरहेका छन् तर थाहा छैन कहाँ गएर ठोक्किनुपर्ने हो ? तैपनि उनी अविच्छिन्न बगिरहेका छन् ।
देश जनयुद्धमा फसिरहेको बेला उनी एसएलसी परीक्षाको चापमा थिए । उत्कृष्ट अंक ल्याएर कसरी परीक्षा पार गर्ने ? अनि शहर गएर चाहेको विषय पढ्ने ? यही धुनमा थिए राकेश । कक्षामा प्रथम राकेश विज्ञान वा गणित विषय लिएर भविष्य बनाउन चाहन्थे । ०५७ सालमा एसएलसी प्रथम श्रेणीमा छिचोलेपछि गाउँ बस्न चाहेनन् । त्यसपछि उनी भविष्य बनाउन खोटाङ, हलेसीबाट बस चढेर काठमाडौं आए ।
कहाँ बस्ने, के खाने कुनै पूर्वयोजना थिएन । बुवाआमाले नचाहँदा नचाहँदै काठमाडौं आएका राकेशले पकेट खर्च पनि दरिलो बोकेका थिएनन् । काठमाडौं छिरेपछि काकाकोमा डेरा खोज्दै पुगे । काका बैंकमा काम गर्थे । काकाले केही दिनमै एउटा हाइड्रो कम्पनीको लेखामा काम मिलाइदिए । बिहान कलेज, दिउँसो अफिस धाउन थाले र यसरी नै उच्च शिक्षा हासिल गरे ।
उच्च शिक्षा हासिल गरेपछि स्नातक अध्ययनका लागि मीनभवनस्थित नेपाल कमर्श कलेजमा भर्ना भए । एकाउन्टिङमै रुचि भएकाले त्यही विषय रोजे । अध्ययनसँगै काममा पनि राम्रो प्रगति भइरहेको थियो । काम पहिलेकै भएको पनि तलब बढेको थियो । अफिसले बाइक दियो । आवतजावत गर्न सहज भयो । मासिक रूपमा पढाइ, खानपिन, कोठाभाडा, पकेट खर्च राखेर बचेको केही रकम बुवा आमालाई पठाइदिन्थे । राकेशको लगनशीलता, पढाइ, इमान्दारी प्रशंसायोग्य थियो । त्यही कारण उनी अफिसमा पनि बोसको पहिलो रोजाइमा परेका थिए ।
माया अन्धो हुन्छ तर अन्धो माया कतिञ्जेल लुक्छ र !
बोस जनजाति राई, उनी पनि राई नै । त्यसकारण पनि केही केमिष्ट्री मिलेकै होला तर त्योभन्दा बेसी राकेश सोझा, इमान्दार, अध्ययनशील थिए । अफिस उचाइमा लम्किँदै थियो । बोस त त्यसै उचाइमा जाने नै भए । राकेशको दिनचर्या अफिस, कलेजमै बितिरहेको थियो । शनिबार पनि काम परे अफिस पुगिहाल्थे । यति समर्पित हुन्थे कि कहिले त काम गर्दागर्दै राति भएको पत्तो पाउँदैनथे । उनलाई सेक्युरिटी गार्डले बोलाउन आउनपथ्र्यो ।
जिन्दगी ठीकठाकसँग चलिरहेको थियो । उनी साथीहरूको तुलनामा कैयौँ गुणाले अब्बल थिए । साथीहरू बुवाआमाको पैसाले कलेज आउँथे तर उनी आफ्नै परिश्रममा बाँचेका थिए । साथीभाइसँग खाजा खान्थे, कहिलेकाहीँ त सबैको पैसा आफैँ तिरिदिन्थे । कलेजका साथीहरू पनि राकेश भनेपछि औधी झुम्मिने । राकेश अध्ययनसँगै साहित्यमा विशेष रुचि राख्थे । आफूले कोरेका कविताका हरफ साथीलाई सुनाउँथे । ताली खान्थे, प्रशंसा बटुल्थे ।
एक दिनको कुरा हो । उनी अफिसमा काम गरिरहेका थिए । बोससँगै एकजना युवती पनि आएकी थिइन् । उनी बोसकै कोही आफन्त जस्ती देखिन्थिन् । रूप ठीकठीकै, बोली पनि राम्रै । जिउडाल मिलेको, गोरी, खाइलाग्दी । बोसले राकेशलाई आफ्नो कोठामा बोलाए, अफिसको आयव्ययसम्बन्धी केही प्रश्न गरे । अनि ती युवतीसँग चिनापर्ची गराइदिए । उनी बोसको भाञ्जी रहिछन् । उनी पनि त्यस दिनदेखि अफिसमा काम गर्न आएकी ।
चिनापर्चीपछि बोसले भने, ‘आजदेखि अफिसको सबै कुरा आशालाई सिकाइदिनू । तिमीलाई काममा चाप भएकाले उनलाई ल्याएको । मिलेर काम गर्नू । केही समस्या भए मकहाँ आउनु ।’ त्यसै दिनदेखि राकेशले आशालाई अफिसबारे डिटेल रूपमा भनिदिए । उनलाई पनि अब काममा केही राहत मिल्यो । शनिबारको दिन अफिस आउनुपर्ने अवस्थाको अन्त्य भयो । एक जनालाई भारी पर्ने काम दुई जनाले गरेपछि सहज भइदियो ।
अफिस आउने, जाने क्रममा आस्था राकेशसँग केही निकट हुँदै गइन् । आस्था राकेशभन्दा पाँच वर्षले जेठी । तर, सुन्दरतामा भने चमक भएकाले उनी त्यति उमेर खाएकी जस्ती देखिँदैन थिइन् । उनी स्नातक पढाइ सकेर एब्रोड स्टडीको तयारीसँगै काम पनि गरिरहेकी थिइन् । राकेश भने स्नातकमै थिए । अफिसमा काम गर्ने सिलसिलामा झन्झन् निकट हुँदै गए । अब खाजा सँगै खान जाने गर्न थाले । तैपनि आफ्नो सम्बन्धलाई खुलस्त रूपमा देखाएनन् । बोसलाई पनि थाहा दिएनन् ।
माया अन्धो हुन्छ तर अन्धो माया कतिञ्जेल लुक्छ र ! एक न एक दिन थाहा भइहाल्छ । आस्था लाहुरे परिवारकी कान्छी छोरी । बुवा ब्रिटिश रिटायर्ड लाहुरे । नखिपोटमा तीनतले घर । कुनै अभाव थिएन । आस्था विदेश पढ्न जान चाहन्थिन् तर बुवाआमा कान्छी छोरीले यतै पढोस् अनि घरजम गरोस् भन्ने चाहन्थे । बुवाआमाले आस्थालाई दुईटामध्ये एउटा घर नै दिएका थिए । बुवा आमाको चाहना थियो– ‘राम्रो ज्वाइँ परोस्, उनीहरू यही घरमा सुखसयलले बसुन् । नातिनातिनीहरू आँखै अघि नाचुन्, खेलुन् ।’
दुईबीचमा झांगिँदै गएको माया झन् फैलिँदै थियो । तर, अफिस र घरपरिवार कतै थाहा थिएन । बुवा अलि कडा स्वभावको भएकाले शनिबार आस्था घरबाट बाहिर निस्कन पाउँदिन थिइन् । तैपनि, दुईबीचमा फोनवार्ता हुन्थ्यो । राकेश प्रेमसम्बन्धभन्दा बेसी अध्ययन र जागिरलाई ध्यान दिन्थे । तर, आस्था आफूलाई कतै घुमाउन लगोस् भन्ने चाहन्थिन् । समय एकदिन दुई दिन हुँदै यसरी नै बित्दै गयो । आस्था आफूले सोचेजस्तै केटो पाएकोमा खुशी थिइन् भने राकेश कता–कता बेचैन ।
अन्ततः घरपरिवारकै सल्लाहमा दुवैले बिहे गरे । राकेशले स्नातकोत्तर गर्दै थिए । आस्था पनि अब विदेशको चक्करबाट मुक्त भई केही व्यवसाय गर्ने सोचमा थिइन् । बिहेपछि आस्थाकै आमाबुवाले चाहेजसरी राकेशले घरज्वाइँ नै बस्नुपर्ने भयो । घरकी कान्छी भएकीले आस्थालाई आमाबुवाले मुटुको टुक्रासरी मनमा सजाएका थिए । बिहेपछि पनि समय राम्रैसँग बित्दै थियो । कुनै झगडा, उतारचढाव थिएन ।
बिहे गरेको पाँच वर्ष पुग्नै लागेको थियो । आमाबुवाले नातिनातिनी खोज्न थाले । तर, राकेश र आस्थाले त्यो दिन सकेनन् । समस्या आस्थासँग थियो । जति पटक बच्चा पेटमा बस्थ्यो उतिपटक खेर गइरह्यो । पटकपटक बच्चा खेर गइरहेपछि चिकित्सकले अब केही समयका लागि त्यो रोक्न सल्लाह दिए । र, यो कुरा दुवै परिवारलाई थाहा दिइयो ।
बिहेपछि राकेश हाइड्रोको जागिर छाडेर एउटा पाँचतारे होटलको म्यानेजर पदमा नियुक्त भए । तलब राम्रै थियो । बैंक ब्यालेन्स पनि राम्रै तर थिएन सन्तान । सन्तान नहुनुको पीडाले छट्पटिरहेको अवस्थामा होटेलकै एकजना वेटर केटीसँग उठबस भयो । उनी पनि राकेशजस्तै पीडित । सन्तानको अपेक्षा जति गरे पनि श्रीमान्् सन्तान जन्माउनै नचाहने । त्यही कारण दुवैले डिभोर्स गरेर एक्लाएक्लै जीवन जिउने निधो गरे ।
डिभोर्सपछि सुशीला (नाम परिवर्तन) ले होटेलमा काम गर्न थालेकी थिइन् । त्यही बीचमा भेट राकेशसँग भयो । माया बस्यो । राकेशले सन्तान पीडाको मल्हम सुशीलासँग पाए । अहिले सुशीला दुई जीउकी छिन् । सुशीलालाई राकेशबारे सबैथोक थाहा छ । तैपनि आमा बन्न पाउँदै गरेकोमा संसारकै सबैभन्दा खुशी छन् । तर, उता राकेश भने कसरी कुरा मिलाउने, कुन मुखले के भन्ने ? रातदिन चिन्ताको आहालमा छट्पटिरहेका छन् । अब, सुशीलाले सन्तानलाई धर्तीमा टेकाउन दुई महिना पनि बाँकी छैन ।
– दिपेश धामी, काठमाडौं
टिप्पणीहरू