कम्युनिष्टसँग लड्ने कमाण्डर बाउछोराको कथा
ताइवानलाई चीनले आफ्नो अभिन्न अंग मान्दै आएको छ । गत शनिवार मात्र पनि राष्ट्रपति सी चिन फिङले उसलाई बेइजिङको नियन्त्रणमा ल्याइछाड्ने उद्घोष गरेका छन् । च्याङ चिङकुओ ती व्यक्ति हुन् जसले ताइवानमा ६ वर्ष प्रधानमन्त्री र १० वर्ष राष्ट्रपति चलाए । उनी चीन र पछि ताइवानको शक्तिशाली नेता बनेका कोमिन्ताङ प्रमुख च्याङ काइसेकका पुत्र हुन् ।
माओ त्सेतुङको नेतृत्वमा सन् १९४९ को अक्टोबर १ का दिन चीन जनवादी गणतन्त्र बन्यो तर त्यतिञ्जेलसम्म सम्पूर्ण चीन कम्युनिष्ट पार्टीको नियन्त्रणमा गैसकेको थिएन । कतिपय प्रदेश कोमिन्ताङकै अधीनमा थियो अर्थात् च्याङ काइसेक पूर्णतः पराजित भइसकेका थिएनन् । २ महिनापश्चात् डिसेम्बर १० को एकाबिहानै कम्युनिष्ट लालसेनाले छङ्तु (चेङ्दु) मा आक्रमण ग¥यो । त्यो बेला च्याङ र उनका छोरा च्याङ चिङकुओ त्यहाँको सैनिक क्याम्पमा थिए । उनीहरू फेङहुवानसाङ विमानस्थलतर्फ भागे र माइलिङ विमान चढेर सोही दिन फार्मोसा (ताइवान) पुगे । त्यो बेला बाबु च्याङ ६२ र चिङकुओ ३९ वर्षका थिए । च्याङले सन् १९५० को मार्च १ मा ताइवानलाई गणतन्त्र चीन घोषणा गरी आफू राष्ट्रपति बने भने छोरालाई गुप्तचर प्रहरीको निर्देशक बनाए । चिङकुओ पछि रक्षामन्त्री, उपप्रधानमन्त्री हुँदै सन् १९७२ मा प्रधानमन्त्री र सन् १९७८ मा राष्ट्रपतिसमेत बने ।
चिङकुओको जन्म निङ्पो शहरमा भएको हो । उनकी आमा माओ फुमेइ चियाङ काइसेककी प्रथम पत्नी थिइन् । चियाङभन्दा ५ वर्षले जेठी । फुमेइसँग च्याङको पछि सम्बन्धविच्छेद भयो । उनी सन् १९३९ मा जापानी सेनाले गरेको हवाई आक्रमणमा मारिइन् । चिङकुओ आमा र बज्यैसित खुब मिल्थे । बाबुसित कुरा मिल्दैनथ्यो । च्याङ कडा मिजासका थिए । छोरालाई ग्रामर स्कुलमा पढाए । कन्फ्युसियसका पुस्तकहरू पढ्न लगाए । पछि फुमेइले लोग्ने र छोरालाई छाडेर हिँडेपछि च्याङले चिङकुओलाई आफूसँगै सांघाइ लगी पुतोङ कलेजमा भर्ना गरिदिए । त्यहाँ पढ्दा चिङकुओका प्रायः सहपाठी कम्युनिष्टहरू थिए, त्यसैले उनले आफूलाई पनि प्रगतिशील क्रान्तिकारी भन्न र उनीहरूकै गतिविधिमा सक्रिय हुन थाले । कम्युनिष्टहरूसित सहकार्य गर्दागर्दै मस्कोमा पढ्न जाने बिचार आयो । ठीक त्यसैबेला सोभियतसंघले कोमिन्ताङ र चिनियाँ कम्युनिष्ट पार्टीसित सहकार्य अघि बढायो । कोमिन्ताङका केही सदस्य छात्रहरूलाई पनि मस्कोमा अध्ययन गर्न स्कलरसिप प्रदान गरिने भयो । हत्तपत्त चिङकुओले आफ्नो नाउँ टिपाए । तर, च्याङ छोरालाई मस्को पठाउन तयार भएनन् । पछि कोमिन्ताङका अर्का नेता चेन कोफुले भनेपछि बल्ल बलजफ्ती माने ।
सन् १९२५ मा चिङकुओ मस्को पुगे । कम्युनिष्ट युनिभर्सिटी अफ दि टेलर्समा भर्ना भए, रुसी बोल्सेभिक नेता कार्ल राडेकको मातहतमा बसेर माक्र्सवाद लेनिनवादको अध्ययन गरे । रुसी नाउँ निकोलाइ भ्लादिमिरोभिच एलिजारोभ राखे । त्यहाँ पढ्दा एकजना चिनियाँ सहपाठी थिए– देङ सियाओपिङ । त्यहीं देङले उनलाई चिनियाँ कम्युनिष्ट युथ लिगमा सदस्य बनाए । उनी बिस्तारै कम्युनिष्ट विचारधाराबाट प्रभावित बन्न थाले । विशेषतः ट्राटस्कीको बिचारबाट । सन् १९२७ मा च्याङले कम्युनिष्टहरूलाई धोका दिएर सांघाईमा कम्युनिष्टहरूको आमसंहार गरे । रुसी सल्लाहकारहरूलाई देशबाट निकाले । बाबु च्याङको उक्त प्रतिक्रान्तिकारी कदमविरुद्ध चिङकुओले सार्वजनिकरूपमै पत्रिकामार्फत विरोध गरे । यस्तै आरोह अवरोहमा, लियोन ट्राटस्कीले चीनप्रति अख्तियार गरेको स्टालिनको नीतिको विरोध गरे । आन्तरिक शक्ति संघर्षमा चिङकुओका एकजना ट्राटस्किपन्थी साथी रुसी गुप्तचरहरूद्वारा मारिए भने चिङकुओलाई पनि पश्चिम साइबेरियाको पहाडीभेग उरालतिर निर्वासनमा पठाइयो । शुरुमा सुधारगृह र पछि उराल हेभी मेशिनरी कारखानामा खटिए । चिङकुओको जीवनमा सबैभन्दा दुःखको दिन शुरु भयो । त्यहाँ उनले चिनेका कोही थिएनन् किनभने सजायँस्वरूप उनको असली परिचय गोप्य राखिएको थियो । त्यस्तो विषम परिस्थितिमा उनको जीवनमा १८ वर्षीया फैना भाखरेभाले प्रवेश गरिन् ।
फैनाको जन्म वर्तमान बेलारुसको ओर्सामा भएको हो । सानैमा अनाथ भएपछि दिदीको आश्रयमा हुर्किन् । १६ वर्षकै उमेरमा कम्युनिष्ट युथलिगको सदस्य बनिन् । र, उराल हेभी मेशिनरी कारखानामा काम गर्न थालिन् । फैना युवा, राम्री र मिजासिलो थिइन् । चिङकुओको अधिनस्थ श्रमिक थिइन् । उनको अवस्थाबारे जानकार थिइन् । निकै कष्टपूर्ण जीवन बिताइरहेका चिङकुओले फैनाको साथ पाए । प्रत्येक असजिलो अवस्थामा मद्दत र सहानुभूति पाए । यसरी सन् १९३५ सम्म दुवै निकै नजिक पुगिसकेका थिए । यसबीच चिङकुओले एकदिन साहस बटुल्दै फैनासमक्ष संगै जीवन बिताउने प्रस्ताव राखे । फैनाले प्रस्तावलाई सहजै स्वीकारिन् । र, छोटो रोमान्सपछि सन् १९३५ को मार्च १५ मा बिहे गरे । ८ महिनापछि डिसेम्बरमा फैना छोरा (सियाओ वेन) को आमा बनिन् । स्टालिनले चीनमा पक्राउ परेका कम्युनिष्ट नेताहरूको रिहाइको बदलामा मात्र चिङकुओलाई रिहा गर्ने प्रस्ताव पठाए तर च्याङ काइसेक कम्युनिष्टहरूलाई छाड्न तयार भएनन् ।
साइबेरियाको मौसम अत्यन्त चिसो थियो । एउटा सानो कोठामा चिङकुओहरू तीन जना अटेसमटेस गरी बस्थे । चिङकुओ र फैना दिनभरि कारखानामा मजदुरी गर्थे । बचेको समयमा सानो छोरालाई बाहिर खेलाउन लान्थे । ठीक त्यसैबेला चिङकुओलाई कारखानाको कामबाट पनि हटाइयो । फैनाले अत्यन्त धैर्य र सुझबुझपूर्ण तरिकाले घर सम्हालिन् । करिब ६ महिना उनीहरूको जीवन निकै कठिन र संघर्षमयी बन्यो । ३ जनाको जीवन फैनाको थोरै तलबबाट चलाउन बिवश भए । उता सन् १९३६ मा सियानमा घटेको घटनापछि पुनः एकपटक कोमिन्ताङलाई जापानविरुद्ध लड्न चिनियाँ कम्युनिष्ट पार्टीसँग सहकार्य नगरी नहुने बाध्यता आइप¥यो । नयाँ परिस्थितिपछि स्टालिनले चिङकुओप्रतिको सख्तता पनि खुकुलो बनाए । चिङकुओले चीन फर्कने अनुमति पाए । र, १२ वर्षपछि बेलारुसी पत्नी र छोराको साथमा सन् १९३७ को अप्रिलमा स्वदेश फर्के । लगत्तै जुलाईमा च्याङ काइसेकको नेतृत्वमा रहेको कोमिन्ताङ सेना र माओ त्सेतुङको नेतृत्वमा रहेको कम्युनिष्ट सेनाबीच युद्धविराम भई जापानविरुद्ध दोश्रो संयुक्त मोर्चा गठन भयो । स्टालिनले रुसी प्रशान्त तटमा जापानको अधिनस्थ क्षेत्र चीनले कब्जा गरोस् भन्ने चाहेका थिए । यिनै स्वार्थमा उनले च्याङलाई बिश्वास गरेर चिङकुओलाई चीन फर्कन दिएका हुन् ।
चीनको हाङचाओमा आइपुगेका चिङकुओ परिवारलाई च्याङ काइसेक र उनकी कान्छी (चौथी) पत्नी सुङ मेइलिङले स्वागत गरे । भेट्नेबित्तिकै उनले रुसमा रहँदा जारी गरेको आफ्नो बिज्ञप्तिलाई लिएर बाबुसमक्ष क्षमा मागे । चिङकुओ स्वदेश फर्कन पाएर जति खुशी थिए, त्यति फैना खुसी भइनन् किनभने उनी आफ्नो जन्मभूमि छाडेर अपरिचित ठाउँमा आइपुगेकी थिइन्, जहाँ उनको आफ्नो कोही थिएनन् न उनी चिनियाँ भाषा नै जान्दथिन् । तैपनि लोग्नेको खुशीमै आफ्नो खुशी देखिन् र चित्त बुझाइन् । घर पुगेपछि सबैभन्दा पहिला चिङकुओले घुँडा टेकेर बाबु च्याङलाई दण्डवत गरे । फैना एकछिन डराइन् र छोरालाई च्यापेर कुनोतिर चुपचाप उभिइरहिन् । एकछिन पछि चिङकुओले उनलाई पनि त्यसै गर्न भने । चिनियाँ शिष्टाचारबारे उनी पूर्णत अनभिज्ञ थिइन् । जानीनजानी उनले पनि घुँडा टेकेर ससुरा च्याङलाई अभिबादन गरिन् । त्यो बेला उनले महसुस् गरिन् कि च्याङ रुसी बुहारीप्रति प्रसन्न छैनन् । फैनाले सबै कुरो बिर्सेर जसरी पनि आफूलाई चिनियाँ रिवाजमा ढाल्ने कोसिस गरिन् । सम्पूर्ण ध्यान लोग्ने, ससुरा र सासूलाई प्रसन्न पार्नेमा केन्द्रित पारिन् । च्याङले आफ्नी बुहारी चिनियाँ जस्तै देखियुन् भनेर नयाँ नाउँ राखिदिए– चियाङ फाङलियाङ । फैनालाई यो कुरो मनपरेको थिएन । आफ्नो पहिचान फेर्ने पक्षमा थिइनन् तर लोग्नेको खुशीको लगि चुपचाप स्विकारिन् ।
चिङकुओ पत्नीलाई औधी माया गर्थे । सावधानीपूर्वक हेरचाह गर्थे । उनैको लागि पश्चिमीशैलीको घर बनाउन लगाए । चिनियाँ भाषा सिकाउने शिक्षिकाको प्रवन्ध मिलाइदिए । उनी पनि चाहन्थे छिटोभन्दा छिटो फैना फाङलियाङ बनुन् ताकि बाबु र सौतेनी आमाले असल बुहारीको रूपमा माया गरुन् । सन् १९३९ मा च्याङले छोरा चिङकुओलाई दक्षिण जियाङसीमा खटाइदिए भने फाङलियाङलाई सिकोउस्थित पुरानो घरमा । फाङलिङ चिङकुओकी आमा माओ फुमेइसित बसेर चिनियाँ भाषा सिक्न थालिन् । तर, गाउँका सबैजना मण्डारिनको साटो निङ्पोको गाउँले भाषा बोल्थे । त्यसैले अरुसित दोहोरो संवाद गर्न जानिनन् र सामाजिक व्यवहार गर्न निकै नै ठूलो समस्या भोग्दै गइन् । घरमा सानो छोरा र बूढी फुमेइ मात्र हुन्थे, नोकरचाकरको ब्यवस्था गरिएको थिएन, जसको कारण घरको सरसफाइदेखि खाना पकाउने, भाँडा माझ्ने, लुगा धुनेजस्ता सम्पूर्ण काम उनैले गर्नु पथ्र्यो । उनी लुगा धोइरहँदा र साइकल चढेर बजारतिर किनमेल गर्न जाँदा गाउँले अचम्म मानेर हेर्दै बस्थे । उनले त्यहाँ शुद्ध चिनियाँ गृहिणी भएर लोग्ने फर्कने दिनको प्रतीक्षामा दिन काट्न थालिन् । उता, गान्नानमा चिङकुओ भने अर्की युवती झाङ यारुओसँग नजिकिन पुगे ।’
(बाँकी अर्को अंकमा)….
टिप्पणीहरू