मुख्य निर्वाचन अधिकृतलाई डरलाग्दो धम्की उम्मेदवारी फिर्ता नहुँदै नेताले भने– चिन्या छ ?

मुख्य निर्वाचन अधिकृतलाई डरलाग्दो धम्की उम्मेदवारी फिर्ता नहुँदै नेताले भने– चिन्या छ ?

निर्वाचन आयोगले उम्मेदवारहरूका बारेमा जनमत सर्वेक्षण गर्न नपाउने विज्ञप्ति जारी गर्नु केही दिनअघि रुटिन अफ काभ्रे बन्द नामक सामाजिक सञ्जालले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारहरू गोकुल बाँस्कोटा, शिवप्रसाद हुमागाईं, मनोज पण्डित, दिनेश हुमागाईंबारे मत संकलन गरेको थियो । जसमा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले १७ प्रतिशत प्राप्त गरेका छन् भने गोकुल बाँस्कोटाले ४० प्रतिशत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार मनोज पण्डितले ४ प्रतिशत र स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ७ प्रतिशत भेटेका छन् । कसैलाई भोट नदिनेको संख्या ३० प्रतिशत रहेको छ । मतदानमा ३ हजार ५ सय जनाले भाग लिएका थिए ।

नेकपा समाजवादीको अध्यक्षसमेत रहेका बागमती प्रदेशका कृषिमन्त्री बसुन्धरा हुमागाईंको उम्मेदवारी फिर्ता लिन अनेक नौटंकी भए । समय सकिएको ५ मीनेटपछि निर्वाचन आयोग पुगेका हुमागाईं, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम, मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईबालगायतले पार्टीको निर्णय भएकाले ढिला भए पनि उम्मेदवारी फिर्ता लिइदिन अनुरोध गरेका थिए । मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले मन्त्री भएकैले ५ मीनेट ढिला भए पनि उम्मेदवारी फिर्ता लिने निर्णय गरे । त्यसैबीच आनाकानी गरेको भन्दै सत्ता गठबन्धनका जिल्ला नेता एवं उम्मेदवारले भट्टराईलाई टेलिफोनमै हकारे । ‘मलाई चिन्या छस् ? काभ्रे थाहा छ ?’ भट्टराई भन्दै थिए, ‘नरिसाई कुरा गर्नुस् न हजुर ।’ उनले सुन्दै सुनेनन् । एकोहोरो झपारेपछि भट्टराईले फोन काटिदिए । उनले हपारेका बेला जिल्ला प्रहरी प्रमुख एसपी चक्रराज जोशी, अनुसन्धानका एसपी नगेन्द्र दाहाल र केही पत्रकार सामुन्ने थिए । बाहिरै कुरा सुनिएपछि भट्टराईले धम्की आइरहेको फोन काटिदिए । मान्छेको नाम पनि लिएनन् र भने, ‘हजुरहरू एकछिन बाहिर गइदिनुस् न है !’

यता, बाँस्कोटाले भेलाहरूमा ७० करोड बार्गेनिङको आरोप लगाइरहने गठबन्धनका नेताहरूलाई मेरो उम्मेदवारी खारेज किन नगरेको ? भनेर च्यालेन्ज गरेका छन् । ‘संसदमा हुँदा कांग्रेसका एक जनाले त्यस्तै आरोप लगाइरहे । सत्तामा भएका बेला अख्तियार र अदालतबाट मलाई दोषी करार गरेको भए हुने नि ? आरोप मात्रै लगाउने ? कांग्रेसका ती सांसदले पटक–पटक आरोप मात्रै लगाएपछि मुकुन्द न्यौपानेले नछेकेको भए म कुट्ने योजनामा थिएँ । मेरो कुटाइ खाने डरले ती सांसद ३ दिन संसद नै आएनछन् । मैले संसदको लबीमा समेत खोजेँ, भागिसकेछन्,’ गोकुलले बताए ।

टिप्पणीहरू