प्रमुख आयुक्तकोमा डेरा, विरोधीमाथि घेरा

प्रमुख आयुक्तकोमा डेरा, विरोधीमाथि घेरा

देउवा सरकारले प्रदेश र प्रतिनिधिसभाको चुनाव लक्ष्यित कांग्रेसीकरण सरकारी सञ्चारमाध्यममा तीव्र पारेको छ । रेडियो नेपाल, गोरखापत्र, नेपाल टेलिभिजन र राससमा शेखर कोइराला समूहलाई एक नम्बरमा राखेर समाचार नदिने गरिएको छ । गोरखापत्रले त लेख–रचनामा समेत शेखर समूहका गतिविधिमाथि सेन्सर लगाउने गरेको गुनासो छ ।

उपसभापति धनराज गुरुङदेखि लेखक धनराज गुरुङहरुसम्मलाई प्रतिबन्ध छ । बाँकी सरकारी मुखपत्रहरुमा पनि समाचार र अन्तर्वार्तामै सेन्सर छ । दोस्रो नम्बरमा एमाले र ऊ सम्बद्ध मानिसहरु परेका छन् । यस मेसोमा एमालेबाट सार्वजनिक पदमा रहेका संवैधानिक अंगका प्रमुखलाई पनि लिष्टमा राखिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना उदाहरण हुन् ।

देउवाविरोधी र एमालेको समाचार र बाइट काटेर प्रशारण गर्न अध्यक्ष समीरजंग शाहले प्रेस युनियनको सदस्य लिएकाहरुलाई मात्रै खटाएका छन् । रेडियो नेपालको जागिरमा देउवाकै पालामा प्रवेश गरी २० वर्षमा सातौं तह टेकेका उनलाई देउवाले नै टेलिभिजनमा बाह्रौं तहको अध्यक्ष बनाएका हुन् । समाचारतर्फ पुष्पहरि क्याम्पा राईको नेतृत्वमा अन्य पत्रकारलाई समाचारबाट निकालिएको छ । टेलिभिजनमा प्रतिस्पर्धाबाट महाप्रबन्धक बनेका कार्यकारी प्रमुख फूलमान बल तामाङ पनि छन् तर उनको सबै अधिकार समीरले प्रयोग गरेका हुन् ।

हालै उनले ९ जनालाई करारमा निर्वाचन आचार संहिता लागू भइसकेपछि ब्याक डेट राखेर भर्ती गरेका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको घरमा डेरा बसेका एक सञ्चारकर्मी प्रयोग गरेर निर्वाचन आयोगमा पनि समीरले कुरा मिलाएको बताइन्छ ।

टिप्पणीहरू