तिहारको तेस्रो दिन आज गाई तिहार, दिउँसो सूर्यग्रहण
हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज गाईपूजा गरिँदैछ । कात्तिक कृष्ण औँशीको दिन आज गाई तिहार मनाइँदैछ ।
वैदिक सनातनकालदेखि नै गाईलाई पवित्र मानेर पूजाआजा गर्ने गरिन्छ । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले गाईको पूजा गर्ने गरिएको धार्मिक विश्वास छ । आजको दिनलाई गाई तिहार पनि भनिन्छ ।
गाईको पूजा गर्नाले गाईबाट आमाजस्तै माया पाइने शास्त्रीय मान्यता छ । गाईलाई माताको रुपमा पनि लिने गरिन्छ ।
नेपालीहरुले कुनै पनि धार्मिक कार्य गर्दा गाईको गोबर र गहुँतको प्रयोग गर्छन् । गाईको गोबरले घर लिपेमा घर शुद्ध हुने मान्यता छ ।
गाईको दूध स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । दूधबाट बनेका परिकारमध्ये दही, मही, घिउ अत्यधिक रुचाइन्छ ।
हिजो भैलो खेलिएको थियो । आज बेलुकीबाट द्यौसी खेलिन्छ ।
आज ‘खण्डग्रास सूर्यग्रहण’
आज अपरान्ह ‘खण्डग्रास सूर्यग्रहण’ लाग्दैछ । नेपालमा सूर्यग्रहण दिउँसो ४ बजेर ५२ मीनेटबाट मात्रै देखिनेछ । ग्रहणको समाप्ति साँझ ५ बजेर २६ मीनेटमा हुनेछ ।
सूर्यगहणलाई नाङ्गो आँखाले हेर्न नहुने खगोलविद्हरु बताउँछन् । आजको ‘खण्डग्रास सूर्यग्रहण’ पश्चिमतर्फबाट स्पर्श भई दक्षिण र नैऋत्य कोणमा अन्त्य हुनेछ ।
टिप्पणीहरू