दुईतिरको सभासद् चुन्न चार ठाउँमा भोट

दुईतिरको सभासद् चुन्न चार ठाउँमा भोट

मंसिर ४ गते एकै चरणमा हुन लागेको दुबै तह (संघ तथा प्रादेशिक) को निर्वाचनमा मतदाताले छुट्टाछुट्टै चारवटा मतपत्र भोट हाल्नुपर्ने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले संघ र प्रदेश दुबैतर्फ प्रत्यक्ष र समानुपातिकका अलग–अलग मतपत्र व्यवस्था गरेको हो ।

जसअनुसार संघीय प्रतिनिधि सभातर्फ प्रत्यक्ष निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङको चिन्ह भएको मतपत्र र समानुपातिकका लागि सेतो पृष्ठभूमिमा कालो रङको चुनाव चिन्ह भएको मतपत्रको व्यवस्था गरिएको छ । प्रदेश सभातर्फ प्रत्यक्षमा सेतो पृष्ठभूमिमा रातो रङको चुनाव चिन्ह र समानुपातिक प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङको चुनाव चिन्ह भएको मतपत्र रहनेछ ।

आयोगका अनुसार भोट हाल्न जाँदा मतदाताले सुरुमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र पाउने छन् । यो मतपत्रमा आफूलाई मन पर्ने उम्मेदवारको चिन्हमा स्वस्तिक छाप लगाएपछि त्यसलाई पट्याएर नजिकैको ‘१’ लेखिएको मतपेटिकामा खसाल्नुपर्नेछ । त्यसपछि दोस्रो चरणमा प्रतिनिधिसभाकै समानुपातिकको मतपत्र दिइनेछ र त्यसका लागि ‘२’ लेखिएको मतपेटिका व्यवस्था गरिएको छ ।

प्रतिनिधि सभाका दुबैतिरको मत खसालेपछि प्रदेशसभाका लागि प्रत्यक्ष प्रणालीमा भोट हाल्नुपर्नेछ । यसमा मतदान गरिसकेपछि ‘३’ लेखिएको मतपेटिकमा मतपत्र खसाल्ने व्यवस्था आयोगले मिलाएको छ । अन्तिममा प्रदेशसभाको समानुपातिकतर्फको मतपत्र मतदातालाई उपलब्ध गराइनेछ । यसका लागि ‘४’ लेखिएको मतपेटिका राखिनेछ ।

हरेक मतदान केन्द्रमा व्यवस्था गरिने गोप्य कक्षमा राखिएको स्वस्तिक छापले मतदाताले मतपत्रमा मत संकेत गर्नुपर्ने हुन्छ । मतदाताले मतदान केन्द्रमा आ–आफ्नो परिचयपत्र साथमा लिएर जानुपर्ने व्यवस्था आयोगले गरेको छ ।

टिप्पणीहरू