बिहान भाइटीका, किजापूजा पनि आजै

बिहान भाइटीका, किजापूजा पनि आजै

तिहारको विशेष दिनको रुपमा आज भाइतिहार अर्थात भाइटीका लगाईंदैछ । तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितिया तिथिका दिन आज भाइटीका लगाइन्छ । दिदीबहिनीले दाजुभाइलाई विधिपूर्वक पूजा गरेर यो पर्व मनाईंदैछ ।

लामो समयसम्म भेटघाट नभएका दाजुभाइ र दिदीबहिनीबीच भेटघाट र हर्षोल्लास पर्वको रुपमा भाइटीकालाई लिइन्छ । यसले दिदीबहिनी र दाजुभाइको सम्बन्धमा दीगोपना ल्याउने विश्वास गरिन्छ ।

भाइटीकाको पौराणिक कथा परापूर्वकालमा मृत्युका राजा यमराज आफ्नी बहिनी यमुनालाई भेट्न आएको विषयसँग सम्बन्धित छ ।

यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वीमा । त्यसैले, यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाइन् । त्यो बेलामा यमपञ्चक परेको थियो । यमपञ्चकभर यमराज आफ्नी बहिनी यमुनको घरमा बसे ।

भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् र दाजुसँग आशीर्वाद लिइन् । त्यहीबेलादेखि तिहार मनाउन थालिएको पौराणिक मान्यता छ ।

भाइटीकाको दिन टीका नलगाई केही पनि खान नहुने मान्यता छ । बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजाआजा गरिन्छ । भाइटीकाको निम्ति ओखर, तोरीको तेल, बिमिरो, खाने मसला, मखमली, दही, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा–मीठा परिकारको आवश्यकता पर्दछ ।

सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरेपछि बिमिरोको पूजा गर्ने धार्मिक चलन छ । त्यसपछि दाजुभाइको दीर्घायुको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेकिन्छ । पानी तथा तेलले सात घेरा हाली दाजुभाइको वरिपरि घुम्ने चलन छ ।

फूल, अक्षताले पूजा गरी दाजुभाइको शीरमा तेल लगाइन्छ । त्यसपछि दिदीबहिनीले आफ्ना दाजुभाइको सुःस्वास्थ्यको कामना गर्दै सप्तरंगी टीका लगाइदिन्छन् । दिदीबहिनीले टीका लगाइदिएपछि दाजुभाइले पनि टीका लगाइदिने प्रचलन छ ।

टीकाको कार्यक्रमपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, खाने मसला, सेलरोटी, फलफूललगायत खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई आफ्नो गच्छेअनुसार सौभाग्यका प्रतिक कपडा र दक्षिणा दिने परम्परा छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मीनेटमा छ । उक्त साइतमा उत्तर मोहडा गरेर टीका लगाउनुपर्ने समितिले जनाएको छ ।

नेवार समुदायको किजापूजा

किजापूजा नेवार समुदायको भाइटीका हो । हिजो म्हःपूजा गरेका नेवार समुदायले आज किजापूजा मनाउँदैछन् । किजा पूजामा म्हःपूजाकै दिनमाझैँ मण्डप तयार गरी बिमिरोदेखि सबै प्रकारका फलफूल राख्ने गरिन्छ ।

त्यसपछि दिदीबहिनीले अक्षता, अबिर, दही, चिउरा र पानीलगायत राखेर दाजुभाइलाई रातो टीका लगाइदिन्छन् । दाजुभाइको दीर्घायूको कामना गर्दै सगुन, उपहार दिने चलन छ ।

टिप्पणीहरू