२५ हजारको जागिर परित्याग,२ लाख आम्दानी
आठ वर्षअघि पुष्प व्यवसायमा प्रवेश गरेकी हुमा गुरुङ ४० वर्षकी भइन् । लमजुङको बेसीशहर नगरपालिका २, गैरीस्थित सीप विकास प्रतिष्ठान गैरीक्याम्पसको प्रवर्धन शाखा प्रमुखको जागिर छाडेर उनी फूल खेतीतिर आकर्षित भइन् ।
मासिक २५ हजार रुपैयाँको जागिर छाडेकी गुरुङलाई पुष्प व्यवसायबाट मासिक दुई लाखसम्म आम्दानी हुन्छ । उनको नर्सरीबाट बाह्रमासे दुई सयभन्दा बढी प्रजातिका फूलका बिरुवा बिक्री हुन्छ ।
बेसीशहर नगरपालिका २, बोहोराबेसीमा पुष्प व्यवसाय गरेकी हुमा घाम उदाएदेखि नअस्ताएसम्म काम व्यस्त हुन्छिन् । ‘फूलको हेरचाहमै दिन बित्छ,बिहान उठेदेखि नै फूलमा पानी हाल्यो,गोडमेल गर्यो, समय बितेको पत्तै हुँदैन ।’
यो जिल्लाको एक मात्र पुष्प व्यवसाय हो । गुरुङले स्थानीय ६ रोपनी जग्गामा मौसमी तथा सदाबहार पुष्प नर्सरी व्यवसाय गरेकी छन् ।
५० लाख लगानी
हालसम्म यसमा ५० लाख रुपैयाँ खर्च भइसकेको जानकारी दिइन् । भनिन्, ‘ऋणधन गरेर लगानी गरेँ र जिल्लामै पहिलो नर्सरी भएकाले कारोबारमा सन्तुष्टी मिलेको छ । अपेक्षा गरेभन्दा निकै राम्रो व्यापार भएको छ ।’
उनले दुई जनालाई रोजगारीसमेत दिएकी छन् ।
टिप्पणीहरू