शीतल निवास र बालुवाटार सुनसान, बालकाेटमा चहलपहल

शीतल निवास र बालुवाटार सुनसान, बालकाेटमा चहलपहल

आज तिहारको अन्तिम दिन भाइटीकाको अवसरमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा चहलपहल देखियो । तर, राष्ट्रपति निवास शीतल निवास र प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा आज भाइटीका नगरिएको कारण सुनसान भएको बताइन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको माइतमा आशौच परेकाले उहाँले भाइहरूलाई टीका नलगाइ दिनुभएको हो । राष्ट्रपति कार्यालयका अनुसार तीन भाइमध्ये दुई जना अमेरिका र एक जना नेपालमै हुनुहुन्छ ।

उता प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आज भाइटीका लगाउनुभएन । भ्रातृशोकमा रहनुभएका कारण उहाँले भाइटीका नलगाउनुभएको बताइन्छ । प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको केही महिनाअघि निधन भएको थियो ।

गत असोजमा दशैैंको टीकासमेत नलगाउनुभएका प्रधानमन्त्रीले पत्नी डा. आरजु राणासँगै साेमबार बालुवाटारमा लक्ष्मीपूजा भने गर्नुभएको थियो ।

उत नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरुको हातबाट आज भाइटीका लगाउनुभएको छ । उहाँले तीन बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलको हातबाट भाइटीका लगाउनुभएको हो ।

टिप्पणीहरू