किन उठायो माओवादीले विवादग्रस्त उम्मेदवार ?

किन उठायो माओवादीले विवादग्रस्त उम्मेदवार ?

नेकपा माओवादी केन्द्रद्वारा जुम्लामा उम्मेदवार बनाइएकी गोमा कुँवरको विगत र छवि विवादित पाइएको छ । २०७० को दोस्रो संविधानसभा निर्वाचनबाट समानुपातिक कोटामा आएकी उनी पशुपंक्षी राज्यमन्त्री समेत बनेकी थिइन् । सांसद र मन्त्रीको जिम्मेवारी लिइसक्दा पनि विभिन्न खाले उपभोक्ता समितिको जिम्मेवारीमा देखिएपछि उनको नियतमाथि प्रश्न उठेको बताइन्छ ।

गोमा संविधानसभा सदस्य हुँदा मानव तस्करीजस्तो गम्भीर मुद्दाको अनुसन्धानमा तानिएकी थिइन् । मानव तस्करी र सरकारी कागजपत्र किर्ते गरेको अनुसन्धानमा तानिएका आठ सांसदमध्ये उनी एक थिइन् । स्पेन जान पेश गरेको सरकारी पत्र नक्कली बनाएर अर्कै व्यक्तिको नाम थपी मानव तस्करीमा संलग्न रहेकोबारे प्रहरीले अनुसन्धान गरेको थियो ।

त्यसो त त्यतिबेला अनुसन्धानमा तानिएका आठै जना सांसद माओवादी केन्द्रकै थिए । परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागको सिफारिस पत्र किर्ते गरी नक्कली पीए बनाएर अर्कै व्यक्तिको नाम थपेको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूमाथि अनुसन्धान अगाडि बढाएको समाचार त्यतिबेला नै बाहिरिएको थियो ।

संसद सचिवालय, अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखाको भीसा सिफारिस पत्रका आधारमा कन्सुलर सेवा विभागले उनीहरूको नाममा सिफारिस पत्र बनाइदिएको थियो । संसद सचिवालय र विभागको पत्रमा सांसदको मात्रै नाम सिफारिस थियो । तर, स्पेनका लागि भीसा आवेदन गर्दा सबैको पत्रमा व्यक्तिगत सहयोगीका रूपमा एक–एक जनाको नाम थपियो ।

कन्सुलरको पहिलो पत्रमा कूटनीतिक राहदानी नम्बरसहित स्पेन जाने सभासदको नाम,कार्यक्रम र कार्यक्रम अवधि उल्लेख थियो ।दूतावासमा भीसाका लागि लेखिएको कन्सुलरको पत्रमा भने सांसदको नाम,कार्यक्रम र कार्यक्रम अवधिसँगै सांसद र अन्य एक जनाको नामसमेत थपिएको पाइयो ।

कुँवरको भीसा सिफारिस पत्रमा भरत दनुवारको नाम निजी सहयोगी भनेर राखिएको थियोे । जबकि उनका स्वकीय सचिव श्रीमान् वीरबहादुर कुँवर थिए ।

उनले स्पेनमा ’इन्टरनेशनल इन्स्टिच्युट अफ सोसल एन्ड इकोनोमिक साइन्स’को कार्यक्रममा सहभागी हुन आवेदन दिएकी थिइन् । उनको कूटनीतिक राहदानी र सहयोगीको नाममा सामान्य राहदानीमा भीसा आवेदन भएपछि भारतस्थित स्पेनी दूतावासले शंका लागेर त्यसबारे कन्सुलर विभागलाई सोधनी गरेको थियो ।

विभागले भीसा आवेदन पत्र र आफूले सिफारिस गरेको पत्र भिडाउँदा नाम थपिएको पत्ता लागेपछि किर्तेको जानकारी परराष्ट्र मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालयसम्म पुगेको थियो ।

शुरूमा यसबारे अपराध अनुसन्धान विभाग (सिआइडी) ले अनुसन्धान थालेको थियो । कन्सुलर शाखा स्रोतका अनुसार बिशेष ब्यूरोका एसपी जगतमान श्रेष्ठसहितको प्रहरी टोली त्रिपुरेश्वरस्थित कन्सुलर कार्यालय पुगेर ती सांसदको सिफारिस पत्रलगायत कागजात लिएर गएको हो ।

प्रारम्भिक अनुसन्धानमा पत्र किर्ते गरी मानव तस्करीमा सांसदको संलग्नता देखिएपछि सिआइडीले अनुसन्धानसँग सम्बन्धित सबै कागजात ब्युरोमा पठाएको थियो । ब्युरोले त्यसपछि टोली गठन गरी अनुसन्धान अगाडि बढायो ।

यसबारे सांसद कुँवरले विभिन्न पत्रपत्रिकामा दिएको प्रतिक्रियामा भने व्यक्तिगत सहयोगी वीरबहादुर कुँवर भए पनि स्पेन जाने पत्रमा सहयोगीको रुपमा भरत दनुवार राखिएको स्वीकारेकी थिइन् । तथापि ती व्यक्तिसँग आफ्नो चिनजान नभएको बताउँदै आएकी छन् ।

एकातिर कम्युनिष्ट नेता, त्यसमाथि युद्धको पृष्ठभूमिबाट आएको पार्टीको अनुशासनलाई समेत लत्याएर पार्टी हेडक्वार्टर र संसदीय दललाई जानकारी नदिएपछि उनीहरूको नियतमाथि पार्टीले नै प्रश्न गरेको थियो ।

त्यतिबेला अन्य साँसदले मानव तस्करीमा सांसदहरूको संलग्नताबारे आठ जना सांसदको मात्रै नभई समग्र संसदकै मर्यादामा आँच आएको भन्दै प्रश्न उठाएका थिए ।

त्यसबेला नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले संसद बैठकको विशेष समयमा बोल्दै विदेश भ्रमणमा जाँदा स्वकीय सचिव र सहयोगीका नाममा अनधिकृत व्यक्ति लगेर उतै छाड्ने कार्यमा सांसद मात्र नभई मन्त्रीहरू समेत संलग्न रहेको बताएका थिए ।

उनले २०४६ पछिका मन्त्रीहरूले विदेशमा कति जनालाई यसरी छोडेका छन् ? तत्काल छानबिन गरी स्वेतपत्र जारी गर्नुपर्ने विचार राखेका थिए ।

माओवादी केन्द्रले मानव तस्करी र सरकारी कागजपत्र किर्ते गरेको अनुसन्धानमा पार्टीका आठ जना सांसद तानिएपछि नेता अमिक शेरचनको संयोजकत्वमा कृष्णबहादुर महरा र प्रवक्ता पम्फा भूसाल रहेको तीन सदस्यीय छानबिन समितिसमेत गठन गरेको थियो ।

टिप्पणीहरू