गोविन्द केसीले पनि भने, ‘नो नट अगेन’
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी ‘नो नट अगेन’ को पक्षमा उभिएका छन् । ‘नो नट अगेन’ अभियानविरुद्ध निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिको अवज्ञा गर्ने पनि उनले चेतावनी दिएका छन् ।
आयोगलाई निर्देशन फिर्ता लिन आग्रह गर्दै त्यसो नभएमा अहिंसात्मक अवज्ञा अभियान थाल्ने डा. केसीको चेतावनी छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको माध्यमबाट राष्ट्रिय राजनीतिको मूलप्रवाहबाट किराना लगाउने चाहना प्रकट गर्न पाउनु नेपाली नागरिकको नैसर्गिक अधिकार भएको उनको धारणा छ ।
नैसर्गिक अधिकारको अभ्यास गरी नागरिक तहबाट स्वःस्फूर्त रुपमा सामाजिक सञ्जालमा ‘नो नट अगेन’ अभियान चलाएको केसीद्धारा हिजो जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ,‘सो अभियानलाई पूर्णतः निषेध गर्ने कुत्सित उद्धेश्य पूरा गर्नको लागि सम्बन्धित सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई फौजदारी कानूनको दुरुपयोग गरी कडा सजाय गर्ने गराउने स्पष्ट मनशाय प्रकट गरी निर्वाचन आयोगले यही कात्तिक ८ गते जारी गरेको विज्ञप्तिप्रति हामी गम्भीर खेद प्रकट गर्न चाहन्छौं ।’
आयोगका पदाधिकारीहरुले पदीय दुरुपयोग गरी वर्षौदेखि कब्जा गरी बसेका भ्रष्ट सिण्डिकेटलाई निरन्तरता दिएको आरोप पनि केसीले लगाएका छन् ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निर्भययुक्त बनाउनेभन्दा पनि आम नागरिकको विचार तथा अभिव्यक्तिको स्वतन्त्रतामा अंकुश लगाउनेतर्फ उद्यत भएको उल्लेख गर्दै आयोगका पदाधिकारीबाट जनविरोध कार्य भएको उनको ठहर छ ।
टिप्पणीहरू