रुसी र चिनियाँ विदेशमन्त्रीबीच टेलिफोन वार्ता,युक्रेनदेखि बेइजिङसम्मको चर्चा
चीन र रुसका विदेशमन्त्रीहरुले टेलिफोन वार्ता गरेका छन् । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच हिजो अबेर टेलिफोन वार्ता भएको बताइएको छ ।
टेलिफोनमा रुसी विदेशमन्त्रीले चिनियाँ कम्युनिष्ट पार्टीको हालै सम्पन्न २० औं महाधिवेशन र निर्वाचित महासचिव सि जिनपिङप्रति बधाई दिँदै आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप कसिलो बन्ने विश्वास व्यक्त गरेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।
महाधिवेशनको पूर्वसन्ध्यामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले महासचिव सिलाई सफलताको शुभकामना सन्देश पठाएको र महाधिवेशनलगत्तै विदेशमन्त्रीले चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ नेतृत्वप्रति बधाई दिएको उल्लेख छ ।
टेलिफोन वार्तामा दुई पक्षीय सम्बन्धलाई थप कसिलो बनाउन सहयोगका विभिन्न क्षेत्रमा सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता जनाइएको छ । चीन र रुसका विदेशमन्त्रीले एसिया प्रशान्त क्षेत्र, समग्र विश्वको शान्ति र स्थायित्वको बारेमा पनि सो अवसरमा विचार विमर्श गरेका छन् ।
उनीहरुले जारी युक्रेन समस्याको समाधान, अन्य अन्तर्राष्ट्रिय क्षेत्रमा देखा परेका समस्या र साझा चासोका बारेमा पनि गहन छलफल गरेको जानकारी दिइएको छ ।
टिप्पणीहरू