बगेपछि खोलामा रात कटाएका शिक्षकले पढाउन थाले
-रिकेश विश्वकर्मा (क्षितिज)
दोलखाको कालिञ्चोक गाउँपालिका–३, निवासी केशव शिवाकोटीको कथा सुन्दा धेरैको मुटु काँप्छ । पेशाले शिक्षक उनी ३७ वर्षका भए । शिवाकोटी सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित सर्कथली आधारभूत विद्यालयमा अध्यापन गर्छन् ।
केशव हरेक शनिबार हेलम्बुको छ्यादी खोलामा साथीहरुसँग नुहाउन जान्थे । गत असोज १ गते पनि उनी चार जना साथीसहित खोलामा पुगेका हुन् ।अघिपछिझैं उनी सो दिन खोलाको छेउमा नुहाउन गए । यताउता नहेरी खोलाको किनारमा पुगेका उनले लेउमा टेकेका कारण चिप्लेर सोझै खोलाको भंगालोमा परे ।
खोलाको बेगले हुत्याउँदै उनलाई निकै तलसम्म पुर्यायो । शिवाकोटी आत्तिएर चिच्याउन थाले, आफन्त र परिवार सम्झिँदै रोइकराई गर्न थालेको बताए । यता, एकछिन अघिसम्म आफ्नै अगाडि रहेको साथी एकाएक अदृश्य भएपछि सँगै नुहाउन खोलामा गएकाहरु अक्क न बक्क भए ।
सामान्य रुपमा पौडिन जानेकाले उनी जसोतसो बचेका हुन् । पानीको छालसँगै बग्दा र बच्न खोज्दा उनको हातखुट्टा सबै थकित भए । तर हार नखाँदै उनी निरन्तर पौडिरहेको बताए । जसोतसो एउटा कोप्चामा रहेको ढुंगामा उक्लिएर आफ्नो ज्यान बचाउन सफल भएको बताए ।
गलेको शरीर र डुब्दो दिन, उनलाई साह्रो चिन्तित बनाइसकेको थियो । उनको बाँच्ने सहारा ढुंगा मात्रै थियो, त्योबाहेक अन्य कुनै विकल्प थिएन । जति नै अप्ठ्यारो परेपनि उनी सहेर बसिरहेका थिए ।
मनमनै भगवान सम्झिएर गुहार माग्दै उनी निरन्तर कराए । तर, खोलाको अर्को छेउमा बसेर चिच्याएको कसले सुन्ने ? गुहार्दागुहार्दै बोल्न नसक्ने अवस्था आए पनि उनको बाँच्ने आश मरेन । भन्छन्, ‘मेरो उद्धार हुन्छ भन्ने पूरा विश्वास थियो । त्यसैले हार खाइन ।’ भिजेको शरीर र भोको पेटले गर्दा रात कटाउन गाह्रो परेको उनको दुःखद् अनुभव छ ।
कहिले उज्यालो होला भन्ने आशमा बसेका शिवाकोटी बिहान हुनेबित्तिकै फेरि ‘गुहार गुहार’ भन्दै कराउन थाले । त्यहाँबाट हेलम्बु गाउँपालिका नाकोते भेग पारीको जंगल प्रष्ट देखिन्थ्यो । घाँस काट्न आएकी एक जना वृद्धलाई देखेपछि हात हल्लाउँदै कराउन थाले । वृद्धले हतारहतार स्थानीयलाई खबर गरिन् ।
स्थानीयले गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई घटनाबारे बताएपछि उनले धेरै ठाँउमा समन्वय गरेर नेपाली सेनाको हेलिकप्टर उद्धार गर्न घटनास्थलमा पुगेको हो । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीय अगुवा र जनप्रतिनिधिहरुले उनलाई बल्लतल्ल खोलाबाट बाहिर निकाले ।
त्यो अवधिभर आफूले हजारौं पटक भगवानलाई सम्झिएको शिवाकोटीले बताए । गाँउलेले उनलाई सकुशल उद्धार गरेको भन्दै सुरक्षाकर्मी, शिक्षक र अगुवाजनलाई दोसल्ला ओढाएर सम्मान पनि गरे ।
घटनापछि केही समय अस्पताल बसेका शिवाकोटी अहिले पुरानै शिक्षण पेशामा फर्किएका छन् ।
टिप्पणीहरू