प्रचण्डको सुझाव : एउटै डुंगामा छौं, चिन्हमा अल्झिए डुबिन्छ

प्रचण्डको सुझाव : एउटै डुंगामा छौं, चिन्हमा अल्झिए डुबिन्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनले चुनाव नजिते मुलुक अप्ठेरोमा पर्ने टिप्पणी गर्नुभएको छ । गठबन्धनको जिल्लास्तरीय संयुक्त कार्यक्रमलाई आज धादिङको सल्यानटारमा सम्बोधन गर्दै उहाँले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धनले निर्वाचन जित्नैपर्ने तर्क दोहोर्याउनु भएको हो ।

प्रतिगामी शक्तिलाई परास्त गर्न गठबन्धन गरिएकाले एकअर्का दलका चुनाव चिह्नमा संकोच नमानी भोट हाल्न पनि प्रचण्डले कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । गठबन्धनको आवश्यकता र महत्व बुझेर सोहीअनुसार आपसमा सहयोग गर्नुपर्नेमा उहाँको जोड थियो । यसका लागि उनले विगतका तितामिठा त्यागेर गठबन्धनका दलहरुलाई मत दिन उहाँले आह्वान गर्नुभयो ।

‘कहिलेकाहीँ साथीहरूलाई रुख, हँसिया हथौडा र कलममा भोट हाल्नेबारे अलिक अफ्ठ्यारो मानेर कुरा गरेको सुनिन्छ’, उहाँले भन्नुभयो, ‘संविधान र लोकतन्त्रका लागि गठबन्धन हो । एकअर्कालाई भोट हाल्न संकोच नमानौँ । यहाँ यो त्यो दल भन्ने होइन, गठबन्धन एउटै डुंगामा छ । डुंगा डुबे सबै डुब्छौँ, उत्रिए सबै दल उत्रिने हो ।’

अध्यक्ष प्रचण्डले मंसिर ४ को निर्वाचन सामान्य नभएको भन्दै गठबन्धनले नजिते देशमा प्रतिगामी गठबन्धनले जित्ने र अन्ततः मुलुकले हार्ने उल्लेख गर्नुभयो ।

टिप्पणीहरू