हाम्राको मुख चर्को,उनीहरूको काम चर्को
नेपालका कम्युनिष्ट नेताहरुले एक दशकदेखि एउटै रटान लगाउन थालेका छन्,‘किसान, उत्पादन र बजारलाई जोडेर समृद्धि ल्याइन्छ ।’ तर कसरी कृषि उत्पादन बढाउने,किसानलाई कसरी राहत दिने भन्नेबारे राज्य संयन्त्रबाट कुनै योजना बनेको छैन ।
कम्युनिष्ट नेतृत्वको सरकार वा कम्युनिष्ट नेता कृषि मन्त्री भएको बेला पनि नेपाली किसानले रोपाइँको समयमा मल र बिऊ पाएनन् । हिउँदमा न आलुको बिऊ,न गहुँको बिऊ । मलखाद अभाव उस्तै ।
उखु किसानले वर्षौंदेखि आफ्नो बिक्री भएको उत्पादनको रकम पाउन सकेका छैनन् । हरेक वर्ष राजधानीमा धर्ना र जुलुस निकालेपछि आंशिक भुक्तानी पाउँछन् ।
उनीहरुको मेहनतको मूल्य कहिल्यै दिईंदैन । उपभोक्ताले पनि चर्को मूल्यमा कृषि उपज किन्नुपर्ने अवस्था छ । यसबाट बिचौलिया मोटाउने कामबाहेक अरु केही भएको छैन ।
तर,छिमेकी चीनमा किसानको जीवनस्तर उकास्न राज्यले गरेको योगदान त्यसको उत्पादन,कृषकको जीवनस्तर र कृषि उपजको निर्यातले समेत पुष्टि गरेको छ । पार्टी र सरकारले सँधै किसानलाई केन्द्रविन्दूमा राखेर योजना बनाएका कारण पछिल्लो समय चीन त्यस्ता उत्पादनको उपभोगपछि सबैभन्दा धेरै निर्यात गर्ने प्रमुख राष्ट्र बनेको छ ।
सोही सन्दर्भमा चिनियाँ कम्युनिष्ट पार्टीका नवनिर्वाचित महासचिव तथा राष्ट्रपति सि जिनपिङ किसानहरुको अवस्था बुझ्न उनीहरुको कार्यक्षेत्रमा पुग्नुभएको छ । गत साता पार्टीको २० औं राष्ट्रिय महाधिवेशनपछि निर्वाचित नयाँ नेतृत्वको साथ उत्तरपश्चिम चीनको सान्सी प्रान्त पुग्नुभएका सिले हिजो स्थानीय किसानसँग बातचित गर्नुभयो ।
चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार उहाँ र पार्टीको स्थायी समितिका सातै जना नेताले बुधवारदेखि हिजोसम्म सान्सीको यनान र हेनान प्रान्तको आन्याङको स्थलगत निरीक्षण भ्रमण गर्नुभएको हो ।
सो क्रममा राष्ट्रपति सिले स्थानीय किसानसँग स्याउ खेती,त्यसको उत्पादन,बजारको अवस्था,श्रमको मूल्य र समग्र किसानको आम्दानीको बारेमा सोधनी गर्नुभएको बताइन्छ । उहाँ स्थलमार्गबाट किसानको बारी र घरसम्म पुग्नुभएको पनि समाचारमा जनाइएको छ ।
त्यसपछि उहाँले गाउँमा खोलिएको स्याउसँग सम्बन्धित कारखानाको निरिक्षण र गाउँको विकासबारे अवलोकन गर्नुभएको थियो । किसानहरुलाई ढाडस दिँदै राष्ट्रपति सिले आफू विगतमा सात वर्ष सान्सी प्रान्तमा पार्टीको जिम्मेवारी वहन गर्ने क्रममा बसेको उल्लेख गर्दै किसानको जीवनस्तर उकास्नेबारे सँधै छलफलमा व्यस्त हुँदै आएको बताउनुभएको सिन्ह्वाले लेखेको छ ।
स्याउ खेतीबाट प्राप्त मनग्ये आम्दानी र सरकारी योगदानका कारण आफूहरुको जीवन सुखमय बन्दै गएको किसानहरुले बताएका थिए । एक जना किसानले भने, ‘रोजगारी मिलेको छ । आम्दानी पर्याप्त भएको छ । बालबालिकाले राम्रो शिक्षा प्राप्त गरेका छन् भने बृद्धवृद्धाहरुले मेडिकल इन्स्योरेन्सबाट राम्रो औषधिमूलो पाएका छन् ।’
टिप्पणीहरू