प्रभु साहको अवस्था झन साँघुरिँदै
नेकपा माओवादी केन्द्र, नेकपा एमाले हुँदै चुनावको निम्ति उम्मेदवारी दर्ता गरेको दिनदेखि स्वतन्त्र उम्मेदवार बनेका प्रभु साह रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा घेराबन्दीमा परेका छन् । उनकाविरुद्ध पाँच दलीय गठबन्धनका नेता तथा कार्यकर्ता खुलेर लागेपछि साह चर्को घेराबन्दीमा परेका हुन् ।
सत्ता गठबन्धनले रौतहट ३ मा प्रभु साहलाई आफ्नो आधिकारिक उम्मेदवार घोषणा गरे पनि सत्ता गठबन्धनकै अधिकांश नेता तथा कार्यकर्ता स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवालको पक्षमा खुलेर लागेका छन् । साहको विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका जयसवालको पक्षमा एउटै मञ्चबाट काँग्रेसका जिल्ला सभापति सुनिल यादव,एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कमल यादव ,माओवादीका नेता नसरुद्धिन अन्सारीले चर्को उद्घोष गरेका छन् ।
पाँच दलीय गठबन्धनले साहको पक्षमा लाग्न गरेको निर्णय विपरित नेकपा एकीकृत समाजवादीले कुनैपनि हालतमा कार्यान्वयन नगर्ने सो पार्टीका नेता बाबुराम दाहालले बताए । अहिले साहविरुद्ध सबै दल एक भएर लाग्ने अनुमान गर्न थालिएको छ ।
सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका धिरज पटेलले समेत पार्टीले प्रभु साहलाई सहयोग गर्न गरेको अनुरोधलाई लत्याउँदै आफ्नो उम्मेदवारी कायम रहने जानकारी गराएका छन् । ‘म कुनैपनि हालतमा प्रभु साहलाई समर्थन गर्दिंन,मेरो उम्मेदवारी कायम छ,’ पटेलले भने ।
रौतहट ३ मा उठेका साहको चुनावी चिन्ह चापाकल हो । उनलाई माछा चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका जयसवालले कडा चुनौती दिने अनुमान गरिएको छ ।
नेपाली काँग्रेसमा रहेर राजनीति गर्दै आएका व्यावसायिक पृष्ठभूमिका जयसवालको पक्षमा नेपाली काँग्रेसका जिल्ला सभापति सुनिल यादवसमेत खुलेर लागेका छन् ।
जिल्ला सभापति यादव स्वयम् सो क्षेत्रबाट गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्य उम्मेदवार हुन् । माछा चुनाव चिन्ह लिएर स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रेका ओमप्रकाश जयसवालले आफ्नो पक्षमा सबै दलको समर्थन रहेको सार्वजनिक रुपमा बताएका छन् ।
रौतहटको उक्त क्षेत्रको पछिल्लो चुनावी माहौलले स्वतन्त्र उम्मेदवार साह र जयसवाल बीचनै कडा प्रतिस्पर्धा हुने अनुमानलाई बल मिलेको बताइन्छ । एमालेको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभुलाई नेकपा एमालेको मत नजाने निश्चित छ । एमालेले आधिकारिक रुपमा आफ्नो पार्टीको मत माछा चुनाव चिन्ह लिएका जयसवाललाई हाल्ने निर्णय यसअघि नै गरेको छ ।
टिप्पणीहरू